अनु लामा

‘नेपाल च्याम्पियन बन्न सक्षम छ, बन्छ पनि’

  • अनु लामा

नेपालले घरेलु मैदानमा फेरि साफ महिला च्याम्पियनसिप खेल्ने मौका पाएको छ । यो नेपालका मौका हो । घरेलु समर्थकको साथ त हुन्छ नै, त्यसमा पनि घरेलु मैदानको फाइदा नेपालले उठाउनु पर्छ । त्यसमा पनि हामीले खेल्दा जस्तो अवस्था अब छैन । सबैको सहयोग र आवश्यक तयारी गर्न पनि नेपालले पाएको छ ।

पहिला हामीले खेल्दा ‘सेल्फ मोटिभेटेड’ गरेर खेल्नुपर्थ्यो । हामीलाई सुविधा पनि कम थियो । अहिले टिमले साथ र सहयोग पाएको छ । त्यसैले टिम पनि उत्साहित छ । पहिलाको तुलनामा नेपालले यो पटक चाहीँ केही राम्रो गर्न सक्छ भन्ने मलाई विश्वास छ । कुनै पनि खेलको बारेमा यस्तै हुन्छ भन्न गाह्रो छ । राम्रो खेलेर पनि सबे टिमले जित्दैनन् । नराम्रो खेल्ने सबै पनि हार्दैनन् । कतिपय अवस्थामा भाग्यको साथ पनि चाहिन्छ ।

पाँचौं साफअघि हामी भारतलाई उसकै देशमा हराएर आएका थियौं, हिरो गोल्डकपमा । तर, पनि विराटनगरमा भएको साफमा भारतलाई हराउन सकेनौं । त्यतिबेला पनि नेपाली टिम एकदमै उत्साहित र सकारात्मक थियो । तर, नतिजा निकाल्न सकेनौं ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपाली टिमले भारतलाई हराउने अर्को मौका पाएको थियो । तर, त्यो अवसर पनि गुमाउनु पर्यो । तर, यो पटक नेपाली टिमले केही गर्छ कि, भारतलाई हराउँछ कि भन्ने छ । यो पटक कोच, व्यवस्थापन टिमदेखि लिएर खेलाडीसम्म सबै कुरा मिलेको छ । साम्बा (सावित्रा भण्डारी) चोटमुक्त भएर पुरानै लयमा फर्किसकेकी छन् । त्यसैले साम्बा टिममा हुँदा सबै खेलाडीलाई हौसला मिलेको छ । किनभने साम्बा टिममा नहुँदा हाम्रो स्कोरिङ लाइन कमजोर हुन्थ्यो । उसको ‘स्ट्रेन्थ’ र खेलको स्तर राम्रो छ । उनको स्कोरिङ पावर पनि बलियो छ ।

मैले ट्रेनिङ हेर्न पाएकी छैन । तर, मलाई जानकारी छ । एपिएफ क्लबकै प्रशिक्षक  कुमार (थापा) सर प्रशिक्षक हुनुहुन्छ । टेक्निकल, ग्राउन्डमा ट्रेनिङ गराउने सबै कुरा राम्रो छ भन्ने सुनेकी छु । उहाँ (प्रशिक्षक थापा)ले बाहिर गएर फुटबल नै पढेर आउनु भएको छ । त्यसले पनि पक्कै प्रभाव पार्नेछ । त्यसैले पाँच दिन मात्र बाँकी हुँदा खेलाडीहरुले अब धेरै कुरा सिकिसकेका छन् ।

रंगशालामा खेल हुँदा समर्थकहरु धेरै हुन्छन्, एन्फामा सीमित दर्शकहरु आउँछन्, हल्चोकमा पनि सीमित नै आउँछन् । त्यसैले कम दर्शक र धेरै दर्शकमा खेल्दा पनि फरक हुन्छ । रंगशालामा नउत्रिएका खेलाडी निराश हुन सक्छन् । तर, त्यसमा ध्यान नदिई झन् समर्थकको साथलाई सकारात्मकरुपमा लिएर नेपालले त्यसको फाइदा उठाउनु पर्छ ।

हामीले विश्वकप छनोटको दोस्रो चरणको छनोटमा टेक्निकल समस्या देखिएको थियो । प्रत्येक खेलको बारेमा अध्ययन गरेर खेलाउनु पर्ने थियो । फिलिपिन्सलाई हामीले ८८औं मिनेटसम्म १-० ले हामीले लिड गरिरहेका थियौ । त्यतिबेला खेलाडी परिवर्तन गर्न नहुने थियो । सेट भइरहेको खेलाडीलाई परिवर्तन गर्दा भर्खर मैदान छिरेको खेलाडीलाई त्यो वातावरणमा घुलमिल हुन समय लाग्छ । यस्ता गल्ती सुधार्दै जाने हो भने नेपालले यसपाली उपाधि घरमै राख्न सक्छ ।

हामीले सधैं खेलिरहेको ठाउँमा खेल्दा र कहिलेकाही खेल्ने मैदानमा धेरै फरक हुन्छ । रंगशाला भनेको नेपाली फुटबलको मुटु हो । फुटबलका सबै खेलहरु प्राय त्यही हुन्छन् । रंगशालामा खेल हुँदा समर्थकहरु धेरै हुन्छन्, एन्फामा सीमित दर्शकहरु आउँछन्, हल्चोकमा पनि सीमित नै आउँछन् । त्यसैले कम दर्शक र धेरै दर्शकमा खेल्दा पनि फरक हुन्छ । रंगशालामा नउत्रिएका खेलाडी निराश हुन सक्छन् । तर, त्यसमा ध्यान नदिई झन् समर्थकको साथलाई सकारात्मकरुपमा लिएर नेपालले त्यसको फाइदा उठाउनु पर्छ ।

नेपालले भुटान र श्रीलंकालाई साफमा जितिरहेको छ । तेस्रो साफमा भुटानलाई तीन गोल हानेको थियो । श्रीलंकालाई पनि गोल हानेको नै छ । पहिलाको नतिजा हेर्दा दुवै टिमलाई नेपालले हराउँदै आएको छ । भुटान पनि राम्रो छ । हामीसँग खेलेका खेलाडीहरु कुनै पनि अब छैनन् । सबै उमेरसमूहका नयाँ खेलाडी छन् । भुटानसँग युवा खेलाडी छन्, जोस र जाँगर छ ।

शारिरीक र मानसिक रुपमा राम्रो छन् । भुटानले महिला र पुरुष नभनीकन समान लगानी गरेको छ । त्यसले टिमको प्रदर्शन पक्कै सुध्रिएको हुनुपर्छ । त्यसैले नेपाललाई सजिलै जित्न दिँदैन । तर, नेपालको तयारी, विगतको इतिहासलाई विश्लेषण गर्दा भुटान र श्रीलंकालाई जित्न सकिन्छ । किनभने हामी उनीहरुलाई जित्दै आएका छौं । त्यसैले नेपालले समूह चरणमा राम्रो नतिजा निकालेर सेमिफाइनल पुग्छ जस्तो लाग्छ ।

बंगलादेश र भारत दुवै बलियो टिम हुन् । बंगलादेश, भारत र नेपाल सेमिफाइनल र फाइनल भिड्ने टिम नै हुन् । बंगलादेश पहिला देखि नै कमजोर टिम थिएन र अहिले पनि छैन । नेपालले जति स्कोरले जिते पनि बंगलादेश बलियो टिम हो । बंगलादेशको उमेरसमूहको खेल हेर्दा बलियो देखिएको छ । प्रशिक्षकले युरोपेली फुटबलकै शैलीमा खेलाइरहेका वा खेलाउन खोजिरहेका हुन्छन् । पहिला उनीहरु मुडे बलले भन्दा पनि रणनीति बनाएर योजनावद्धरुपमा खेल्न थालेका छन् । बलको भरमा भन्दा दिमाग लगाएर खेल्छन् ।

सेमिफाइनलमा भारत र बंगलादेश जुनै टिम आए पनि कडा प्रतिस्पर्धा गर्नै पर्छ । सिलगुडीमा भएको चौथो साफमा नेपाल सेमिफाइनलमा भारतसँग ३-१ ले हारेको थियो । त्यस्ता अनेक हारलाई बिर्सेर यसपाली हामीले हराउनु पर्छ । र, हामी त्यसका लागि तयार पनि छौं ।

हाम्रा स्टार खेलाडीहरु भारत गएर खेलिरहेका छन् । हामीलाई त्यसबाट फाइदा हुन्छ । भारतको राष्ट्रिय टिमको खेलाडीहरु पनि राम्रो क्लबमा हुन्छन् । तीनै क्लबले हाम्रा खेलाडी लाने हो । त्यसो हुँदा नेपाली खेलाडीले पनि कुन खेलाडीको स्तर कस्तो छ ? भन्ने बुझेका हुन्छन् ।

भारतसँग खेल्न महिला र पुरुष दुवै खेलाडीले गाह्रो मान्छन् । हाम्रो टिम कत्तिको बलियो छ उनीहरुलाई थाहा छ । र, उनीहरुको टिम कत्तिको बलियो छ हामीलाई थाहा छ । पुरुषको प्रतियोगितामा पनि नेपालले भारतलाई चुनौती दिइरहेको हुन्छ । कुनै टिमसँग खेल्न जाँदा हामी कमजोर छौं भनेर देखाउँदैनौ । हामी जित्छौं नै भनेर जान्छौं ।

हाम्रा स्टार खेलाडीहरु भारत गएर खेले भने फाइदा हुन्छ । भारतको राष्ट्रिय टिमको खेलाडीहरु पनि राम्रो क्लबमा हुन्छन् । तीनै क्लबले हाम्रा खेलाडी लाने हो । त्यसो हुँदा नेपाली खेलाडीले पनि कुन खेलाडीको स्तर कस्तो छ ? भन्ने बुझेका हुन्छन् ।

सिनियर खेलाडी घाइते हुनु र युवा खेलाडीको बाहुल्य हुनु राम्रो कुरा हो । तर,  यसले नोक्सानी पनि हुन सक्छ । टिमले गोल खायो भने युवा खेलाडी प्रेसरमा आउँछन्, डराउँछन् । खेल्न सक्दैन । तर, अनुभवी खेलाडी टिममा हुँदा यस्तो हुँदा यो गर्नुपर्छ, यत्तिको प्रेसर हुन्छ नै भन्ने थाहा हुन्छ । युवा खेलाडीलाई त्यसको अनुभव कम हुन्छ ।

खेलाडी पनि चिनेका हुँदैनन् । त्यसैले रेनुका (नगरकोटी)को कमी हुन्छ । किनभने उसले पहिल्यैदेखि सिनियर टिममा खेल्दै आएकी छिन् । उनको गेम पनि राम्रो छ । मिडफिल्ड उसको उपस्थिति र उनको प्रेसर धान्न सक्ने क्षमता, सेन्स सबै राम्रो छ । १३औं साग र साफमा कप्तानी सम्हालिसकेको व्यक्ति नहुँदा अलिकति कमी खड्किन्छ नै ।

पुजा राना मगर पनि टिममा चाहिने खेलाडी हुन् । उनको ठाउँमा अरु खेलाडीले कस्तो खेल्छन् भन्ने महत्त्वपूर्ण कुरा हो । कतिको उसले त्यो ठाउँलाई न्याय दिन सक्छ । पुजाको ठाउँमा खेल्ने खेलाडीलाई मौका पनि हो । उसले राम्रो प्रदर्शन गर्न सके पुजाको विकल्प मात्रै होइन, पहिलो रोजाइको खेलाडी बन्न सक्छन् ।

तीन जना नयाँ खेलाडीले टिममा स्थान बनाएका छन् । उनीहरु तीनै जना विभागीय टिमले भित्र्याइसकेका खेलाडी हुन् । त्यति मात्रै नभएर विभागबीच कसले लाने भनेर हानाथाप नै भएका खेलाडी हुन् । त्यसमा पनि उमेर समूहबाट पनि खेलिसकेका खेलाडी छन् । त्यसैले उनीहरुप्रति पनि अपेक्षा हुनेछ । विभागले राम्रो खेलाडी गुमाउन चाहँदैन ।

विभागको चासो देख्दा सबै अब्बल छन् भन्ने अनुमान गर्न कठिन छैन । पहिलो पटक राष्ट्रिय टिममा परेका खेलाडीले पाएका सीमित अवसरमा प्रदर्शन गरेको आधारमा प्लेइङ सेटमा स्थान बनाउने हो । कतिको खेल्छन् भन्ने हो । उमेर समूहबाट राष्ट्रिय टिममा पर्नु सानो कुरा होइन । पुरानाभन्दा अब्बल सावित गरेपछि मात्रै नयाँ-युवा खेलाडीले मौका पाउँछन् । त्यसैले उनीहरुप्रति पनि आस रहने छ ।

नेपालले च्याम्पिन बन्ने लक्ष्य मात्रै होइन, दृढ महत्वकांक्षसहित खेल्नुपर्छ । सधैँ नेपालले नै आयोजना गर्न सक्दैन । घरेलु मैदानमा जस्तो सहज अन्यत्र हुँदैन । नेपालले फेरि एक पटक मौका पाएको छ । र, जित्छ नै जस्तो लाग्छ । २०१८ मा भारतलाई हिरो गोल्डमपमा जितेर आएको नै हो । त्यसैले भारतलाई हराउनै नसकिने होइन रहेछ । यसपाली साफमै भारतलाई हराउनु पर्छ । र, म फेरि भन्छु नेपाली टिम सक्षम छ, त्यसैले च्याम्पियन बन्नु पर्छ ।

(पूर्व कप्तान लामासँगको कुराकानीमा आधारित)