आइपिएल

हसरंगा चम्किँदा हैदराबादमाथि बैंगलोरको सहज जित

मुम्बई । बलिङमा वनिन्दु हसरंगा र ब्याटिङमा कप्तान फाफ डु प्लेसिस चम्किएपछि रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६७ रनले पराजित गरेको छ ।

वान्खडे रंगशालामा बैंगलोरले दिएको एक सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.२ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २५ रनमात्र जोड्न सक्यो ।

हैदराबादका राहुल त्रिपाठीले सर्वाधिक ५८ रन बनाए । राहुलले ३७ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै, आइदेन मार्करमले २१ र निकालेस पुरनले १९ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हैदराबादका कप्तान केन विलियम्सन ‘डायमन्ड डक’ आउट भएका थिए । दोस्रो इनिङको पहिलो बलमै रनआउट भएका विलियम्सनले एक बल पनि खेलेनन् ।

हैदराबादलाई सस्तैमा समेट्न बैंगलोरका हसरंगाले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका हसरंगाले एक मेडन राख्दै १८ रन खर्चिए । यसबाहेक, जस हेजलउडले दुईसँगै ग्लेन म्याक्सवेल र हर्सल पटेलले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रनको योगफल खडा गरेको थियो ।

बैंगलोरका ब्याटिङ फेरी एक पटक पूर्व कप्तान विराट कोहली असफल भए पनि कप्तान डु प्लेसिस र रजत पटिडरले टोली इनिङ सम्हालेका थिए । कोहली ‘रोयल डक’ भएका थिए ।

कोहली इनिङको पहिलो बलमै पभेलियन फर्किए पनि डु प्लेसिस र पटिडरले दोस्रो विकेटका लागि एक सय पाँच रनको साझेदारी गरेका थिए ।

पटिडर ४८ रनमा आउट हुँदा फाफ ७३ रनमा अविजित रहे । डुप्लेसिसले ५० बलमा आठ चौका र दुई छक्का प्रहार गरे । यसबाहेक, बैंगलोरको खातामा ग्लेन म्याक्सवेलले ३३ र दीनेश कार्तिकले अविजित ३० रन थपे ।

अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका कार्तिकले आठ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए ।

हैदराबादका जगदीस सुचिथले दुई विकेट लिँदा कार्तिक त्यागीले एक विकेट लिएका ।

जितसँगै १२ खेलबाट १४ अंक जोडेको बैंगलोर तालिकाको चौथो स्थानमा छ । यस्तै, ११ खेलबाट १० अंक जोडेको हैदराबाद छैटौं स्थानमा छ ।