नेपाली क्रिकेट

चारदेशीय शृंखलामा नेपालको विजयी सुरुआत

मस्कट । ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा अविनाश बोहरा चम्किएपछि चारदेशीय ट्वान्टी २० शृंखलाको पहिलो खेलअन्तर्गत नेपालले आयोजक ओमानले ६ विकेटले पराजित गरेको छ ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी छँदै चार विकेटको क्षतीमा भेट्टायो ।

नेपालको ब्याटिङमा दीपेन्द्रले अर्धशतकीय इनिङ खेले । ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेको दीपेन्द्रले अविजित ७३ रन बनाए । ५३ बलको सामना गरेका दीपेन्द्रले आठ चौका र एक छक्का प्रहार गरे । 

एक समय ६२ रनमा शीर्ष तीन ब्याटरलाई गुमाएर दबाबमा परेको नेपाललाई दीपेन्द्रले चौथो विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गर्दै जिततर्फ डोर्याएको थिए । पभेलियन फर्किनुअघि आरिफ १९ बलमा तीन चौकासहित २५ रन बनाए । 

नेपालले ६२ रन जोड्दा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । त्यसअघि नेपालबाट ज्ञानेन्द्रले पभेलियन फर्किनुअघि १३, ओपनर आशिफ शेखले १४ र प्रदीप ऐरीले चार रन जोडे । यस्तै, चार बलमा चार रन बनाएका सरद भेषावकर दीपेन्द्रसँगै अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङमा आएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रनको योगफल खडा गरेको थियो ।

ओमानका कप्तान जिसन मक्सुदले सर्वाधिक अविजित ४३ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, नदिमले पभेलियन फर्किनुअघि ३० बलमा दुई चौकासहित ३१ रन जोडे ।

ओमानको स्कोरबोर्डमा ओपनर जतिन्दर सिंहले १३ रन थप्दा कश्यप प्रजापती, शोएब खान र आयान खानले समान ११ रनको योगदान गरे ।

नेपालका अविनाश बोहराले तीन विकेट लिएका । चार ओभर बलिङ गरेका अविनासले २६ रन खर्चिए । त्यस्तै, कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।

शृंखलाअन्तर्गत नेपालले भोली सयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्नेछ ।

आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल र ओमानसँगै आयरल्यान्ड र युएई चारदेशीय शृंखलामा सहभागी छन् ।