काठमाडौं । नेपाल प्रियिमर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्चेन्ट डी लाङ्ग लाई अनुबन्ध गरेको छ ।
३४ वर्षीय लाङ्गसँग ग्ल्यामोर्गन, समरसेट, ग्लुसेस्टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको अनुभव छ । यसैगरी उनले मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको पनि प्रतिनिधित्व गरिसकेका छन् ।
लाङ्गले दक्षिण अफ्रिकाका लागि ६ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा सात विकेट लिएका छन् ।
उनले नेपाल प्रियिमर लिगमा चितवनको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न तथा विश्वका सबैभन्दा जोसिला समर्थकको अगाडि खेल्न पाउँदा म खुसी र रोमाञ्चित छु । मेरो पहिलो भ्रमण हुनेछ,’ लाङले भने ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी विदेशी बलर अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए । ‘लाङ्ग विश्व विक्रकेटमा नाम कमाएका खेलाडी हुन् । उनलाई अनुबन्ध गर्न पाउँदा हामी उत्साहित छौं,’ न्यौपानेले भने ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवनसहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।