काठमाडौं । नेपाल समूह विजेता बन्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकाविरुद्ध ६–० गोल अन्तरको जित हासिल गरेसँगै नेपाल समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । हारले श्रीलंकाको साफ च्याम्पियनसिप यात्रामा पुर्णविराम लागेको छ ।
यो जितसँगै नेपालले तीन खेलमा सात अंक जोड्यो । पहिलो खेलमा भुटानविरुद्ध दुर्भाग्यजनक गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित हासिल गरेको थियो ।
श्रीलंका मात्र तीन अंकमा सिमित रह्यो । श्रीलंकाले पहिलो खेलमा माल्दिभ्समाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको थियो । दोस्रो खेलमा श्रीलंकाले भुटानविरुद्ध ४–१ को पराजय बेहोरेको थियो । भुटानले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । बिहीबार दिनको पहिलो खेलमा भुटान माल्दिभ्सलाई १३–० को फराकिलो नतिजामा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समान अंक भएतापनि नेपाल गोल भिन्नताका आधारमा भुटानलाई पछि पार्दै समूह विजेता बनेको हो ।
नेपालले लगातार सातौं संस्करण सेमिफाइनलमा स्थान बनाएको हो । पाँच पटकको उपविजेता नेपालले यसअघिका सबै संस्करणमा कम्तिमा पनि अन्तिम चारसम्मको यात्रा गरेको छ । अब सेमिफाइनलमा नेपालले समूह ‘ए’ को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतविरुद्धको खेल आइतबार ६ः३० बजे यही मैदानमा हुनेछ ।
बिहीबार साढे सात हजार घरेलु दर्शकको साथ पाएको नेपाल श्रीलंकाविरुद्ध एकपक्षीय रुपमा हाबी देखियो । नेपालले करिब एक दर्जनभन्दा बढी अवसर सृजना गर्दा श्रीलंकाले बललाई मध्यभागभन्दा माथि लान सकेन । यसबीच नेपालले पहिलो हाफमा चार गोल गर्यो । दोसे हाफमा सुनौला मौकामा चुक्दा एक गोल मात्र सम्भव भएको हो । नेपालको जितमा रेखा पौडेलले दुई गोल गर्दा सावित्रा भण्डारी, सवीता रानामगर, अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान एक गोल गरे ।
खेलको आठौं मिनेटमा सवीताको गोलमा नेपालले अग्रता लियो । राइट साइडबाट सावित्राले दिएको क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी सवीताले पहिलो टचमै गोल गरिन् । उनको लेफ्ट फुटेड प्रहारले क्रस बार मुनिको जाली चुमेको थियो ।
पहिलो गोल गरेको तीन मिनेटमै नेपालले अर्को गोल गर्यो । सावित्राले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार दोस्रो बारको टप कर्नर गोलमा परिणत भएको थियो ।
दोस्रो गोलको सेलेब्रेसनमै रहँदा नेपालले तेस्रो गोल गर्यो । यसपालि लेफ्ट साइडबाट अमिषा कार्कीले दिएको क्रसलाई रेखा पौडेलले ड्रप नहुँदै भलि प्रहारमा गोल गरिन् ।
नेपालले चौंथो गोल ३२औं मिनेटमा गर्यो । सावित्राले बक्सभित्रबाट विपक्षी रक्षकलाई ड्रिबल गर्दै गरेको शक्तिशाली प्रहारमा रेखाले टच दिएकी थिइन् । रेखाले टच दिएपछि श्रीलंकाली गोलकिपर विरसिंहा झुक्किइन् र उनले बललाई बचाउन सकिनन् ।
दोस्रो हाफको सुरुआती दुई मिनेटभित्र नै नेपालले पाँचौं गोल गर्यो । सवीताको पासमा अमिषा (कार्की)ले फ्रि हेडरमा गोल गरिन् ।
खेलको ८४औं मिनेटमा रेखाको गोलले मान्यता पाएन । सावित्राको शक्तिशाली प्रहार क्रस बारमा लागेर रिबाउन्ड आउँदा रेखाले त्यसलाई हेडरमार्फत गोलमा परिणत गरिन् । तर, रेफ्रि बर्मान कनिकाले उक्त गोललाई अफसाइडको संकेत दिइन् ।
इन्जुरी समयमा अनिता बस्नेतको कर्नरमा रश्मीकुमारी (घिसिङ)ले हेडरमार्फत गोल गरिन् । रश्मीको गोलसँगै नेपाल समूह विजेता बन्यो ।