काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को अग्रता लिएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी समूह ‘बी’को अन्तिम खेलमा नेपाल श्रीलंकाविरुद्ध एकपक्षीय रुपमा हाबी देखिएको छ । एकपछि अर्को आक्रमण बुनिरहेको नेपालले आधा दर्जन अवसर सृजना गर्दा चार गोल गर्न सफल भएको हो । नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी र सवीता रानामगरले एक–एक गोल गरे ।
खेलको आठौं मिनेटमा सवीताको गोलमा नेपालले अग्रता लियो । राइट साइडबाट सावित्राले दिएको क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी सवीताले पहिलो टचमै गोल गरिन् । उनको लेफ्ट फुटेड प्रहारले क्रस बार मुनिको जाली चुमेको थियो ।
पहिलो गोल गरेको तीन मिनेटमै नेपालले अर्को गोल गर्यो । सावित्राले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार दोस्रो बारको टप कर्नर गोलमा परिणत भएको थियो ।
दोस्रो गोलको सेलेब्रेसनमै रहँदा नेपालले तेस्रो गोल गर्यो । यसपालि लेफ्ट साइडबाट अमिषा कार्कीले दिएको क्रसलाई रेखा पौडेलले ड्रप नहुँदै भलि प्रहारमा गोल गरिन् ।
नेपालले चौंथो गोल ३२औं मिनेटमा गर्यो । सावित्राले बक्सभित्रबाट विपक्षी रक्षकलाई ड्रिबल गर्दै गरेको शक्तिशाली प्रहारमा रेखाले टच दिएकी थिइन् । रेखाले टच दिएपछि श्रीलंकाली गोलकिपर विरसिंहा झुक्किइन् र उनले बललाई बचाउन सकिनन् ।