काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले पहिलो विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका अलराउन्डर जिमी निशमलाई अनुबन्ध गरेको छ ।
जनकपुरले सामाजिक सञ्जालमार्फत ३४ वर्षीय निशमलाई भित्र्याएको जानकारी दियो । निसमले न्युजिल्यान्डका लागि ७९ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ९४४ रन प्रहार गरेका छन् । यसैगरी उनको नाममा ३९ विकेट पनि छ ।
जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय किक्रेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख छन् । यसैगरी टोलीले पुबुदु दासानायकेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा जनकपुर बोल्ट्ससहित लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।