काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोलीले सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो विदेशी खेलाडीका रूपमा इङ्लिस क्रिकेटर सैफ अली जैबलाई अनुबन्ध गरेको छ ।
सुदूरपश्चिमले सामाजिक सञ्जालमार्फत २६ वर्षीय जैबलाई अनुबन्ध गरेको जानकारी दियो । उनले हालसम्म सियिनर टोलीका लागि भने खेलेका छैनन् ।
जैबले ७४ ट्वान्टी-२० खेलमा सात अर्धशतकसहित १ हजार २६६ रन बनाएका छन् । यसैगरी उनले १२ विकेट पनि लिएका छन् ।
यसअघि सुदूरपश्चिमले स्कटल्यान्डका ब्याटर ब्रेन्डन म्याकमुलाई भित्र्याएको थियाे ।
सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।