अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृंखला

उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको उपाधिका लागि घरेलु टोली नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् ।

नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले एक अंक बाँडे । यो नितजासँगै चार खेलमा पाँच अंक जोड्दै नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो । नामिबिया समान खेलबाट तीन अंकका साथ पुछारमा रह्यो ।

नेपालले चार खेलमा चार अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल यात्रा तय गर्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियाे।

खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटन ३४ र जिन ग्रिन ११ रन बनाएर खेलिरहेका थिए ।

भारी वर्षाका कारण खेल पुनः सञ्चालन गर्न सम्भवन नभएपछि दुवै टोलीलाई अंक प्रदान गरिएको हो । फाइनल मंगलबार हुनेछ ।