प्रधानमन्त्री कप बागमती छनोट

प्रधानमन्त्री कप बागमती छनोटः चितवन फाइनलमा

काठमाडौं । चितवन प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बागमती छनोटको फाइनल प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा चितवनले काठमाडौं जिल्लालाई दुई विकेटले पराजित गरेको हो ।

काठमडौंले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य चितवनले दुई बल बाँकी छँदा आठ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि सूर्यान्शु कोइरालाले ९० बलमा तीन चौकाको मद्दले सर्वाधिक ५६ रनको योगदान गरे । 

यसैगरी प्रतिक श्रेष्ठले ३०, विमल चालिसेले २०, दानिश इक्बालले अविजित २२ र संघर्ष पौडेलले अविजित २० रन बनाए । पाँचौं विकेटका लागि सूर्यान्शु र विमलले ६६ रनको साझेदारी गरे । 

काठमाडौंका लागि कप्तान शरद भेषवाकरले १० ओभरमा ३९ रन खर्चिदै चार विकेट लिए । यसैगरी प्रतिश जिसीले दुई तथा हरिबहादुर चौहान र मनोज यादवले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमडौंले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८८ रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि नवीन तामाङले ३२, शरद भेषवाकरले २९, प्रतिश जिसीले २६, सोनु देवकोटाले २० तथा रोबिन जोशी र राकेशकुमार कर्णले समान १२ रन बनाए ।

चितवनका लागि दानिश इक्बालले तीन, गौतम केसी र संघर्ष पौडेलले समान दुई तथा नरेश प्रधान, दिपेश श्रेष्ठ र प्रतिक श्रेष्ठले समान एक विकेट लिए ।

चितवनले उपाधिका लागि ललितपुर जिल्लाको सामना गर्नेछ । ललितपुरले पहिलो सेमिफाइनलमा नुवाकोटलाई आठ विकेटले परावित गर्दै फाइनलमा स्थान बनाएको थियो ।