नेपाल प्रो क्लब च्याम्पियनसिप

प्रो क्लब च्यम्पियनसिपः पुलिसले पर्सालाई हरायो

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले नेपाल प्रो क्लब  च्याम्पियनसिपमा पर्सा क्लब ११ माथि २५ रनको जित निकालेको छ ।

जितसँगै पुलिसले चार खेलमा ६ अंक जोडेको छ । पराजय ब्यहोरेको पर्साको समान खेलबाट चार अंक छ ।  

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा मंगलबार पुलिसले प्रस्तुत गरेको १ सय २५ रनको लक्ष्य पछ्याएको पर्साले २० ओभर नै ब्याटिङ गरेपनि आठ विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो ।

पर्साका लागि पवन सराफले ३२, कप्तान सन्दीप लामिछानेले २३, सुरज पटेलले १७ र रुपेश सिंहले १५ रन बनाए ।

तेस्रो विकेटका लागि सन्दीप र सुरजले ३८ रनको साझेदारी गरे । पुलिसका लागि ललितनारायण राजवंशी, करण केसी र सागर ढकालले समान दुई तथा राशिद खान र शेर मल्लले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि करण केसीले अविजित २९, अमित श्रेष्ठले अविजित २६, कप्तान आरिफ शेखले २२,  शंकर रानाले १७ र अर्जुन साउदले ११ रन बनाए । 

सातौं विकेटका लागि करण र अमितले अविजित ४० रनको साझेदारी गरे । पर्साका लागि अनिल शाहले दुई तथा साम्सद मन्सुरी र रुपेश सिंहले समान एक विकेट लिए ।