आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः म्याक्सवेलको दोहोरो शतकप्रेरित अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौं । ग्लेन म्याक्सवेलको दोहोरो शतकप्रेरित अस्ट्रेलिया अफगानिस्तानलाई तीन विकेटले स्तब्ध बनाउँदै भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जितसँगै आठ खेलमा १२ अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा छ । पराजय व्यहोरेको अफगानिस्तान समान खेलबाट आठ अंकका साथ छैटौं स्थानमा छ ।

मुम्बईस्थित मुम्बईस्थित वान्खडे क्रिकेट रंगशालामा मंगलबार अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ रनको लक्ष्य अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो ।

एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले पुरा गरेको यो सबैभन्दा ठुलो लक्ष्य हो । यसअघि अस्ट्रेलियाले सन् १९९६ को विश्वकपमा न्युजिल्यान्डविरुद्ध १ सय ८६ रनको लक्ष्य पूरा गरेको थियो ।

अस्ट्रेलियाका लागि म्याक्सवेलले १ सय २८ बलमा २१ चौका र १० छक्काको मद्दतले अविजित २ सय १ रन बनाए । यससँगै म्याक्सवेल एकदिवसीय अन्तर्राष्ट्रियमा दोहोरो शतक प्रहार गर्ने पहिलो अस्ट्रेलियन खेलाडी बनेका छन् । 

यसैगरी मिचेल मार्शले २४, डेविड वार्नरले १८, मार्नुस लाबुसेनले १४ र कप्तान प्याट कमिन्सले अविजित १२ रन जोडे ।

९१-७ को दयानिय अवस्थाबाट आठौं विकेटका लागि म्याक्सवेल र कमिन्सले अविजित २ सय २ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जित दिलाए ।  

एकदिवसीय अन्तर्राष्ट्रियमा आठौं विकेटका लागि भएको यो सर्वाधिक ठूलो साझेदारी हो । यसअघि २००६ मा दक्षिण अफ्रिकाका जस्टिन केम्प र एन्ड्रयु हलले भारतविरुद्ध आठौं विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए ।

अफगानिस्तानका लागि नविन उल हक, अज्मतुल्लाह ओमरलाइ र राशिद खानले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ९१ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रनले १ सय ४३ बलमा आठ चौका र तीन छक्काको मद्दतले अविजित १ सय २९ रनको योगदान गरे । यसैगरी राशिद खानले अविजित ३५, रहमत शाहले ३०, कप्तान हस्मतुल्लाह शाहिदीले २६, अज्मतुल्लाह ओमजाइले २२, रहमुनुल्लाह गुबार्जले २१ र मोहम्मद नाबीले १२ रन जोडे ।

जाद्रनले दोस्रो विकेटका लागि शाहसँग ८३, छैटौं विकेटका लागि खानसँग अविजित ५८ र तेस्रो विकेटका लागि शाहिदीसँग ५२ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि जोश हेजलउडले दुई तथा मिचेल स्टार्च, ग्लने म्याक्सवेल र एडम जाम्पाले समान एक विकेट लिए ।