आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः अस्ट्रेलियाको रोमाञ्चक जित

काठमाडौं । अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा न्युजिल्यान्डमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

यससँगै चौथो जित निकालेको अस्ट्रेलिया ६ खेलमा ८ अंक जोडेर चौथो स्थानमा कायम छ । दोस्रो पराजय व्यहोरेको न्युजिल्यान्ड पनि समान खेलबाट ८ अंककै साथ तेस्रो स्थानमा छ ।

धर्मशालास्थित हिमान्चल क्रिकेट संघ रंगशालामा शनिबार अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय ८३ रन बनायो ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ८९ बलमा नौ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १ सय १६ रनको योगदान गरे । जेम्स निशमले ३९ बलमा समान तीन चौका र छक्काको मद्दतले ५८ रन बनाए ।  

यसैगरी ड्यारिल मिचेलले ५१ बलमा ५ चौका र एक छक्काको मद्दतले ५४, विल योङ्गले ३२, डिभोन कोन्वेले २८, कप्तान टोम लाथमले २१, ग्लेन फिलिप्सले १२ र ट्रेन्ट बोल्टले अविजित १० रन जोडे ।

रविन्द्रले दोस्रो विकेटका लागि मिचेलसँग ९६ र तेस्रो विकेटका लागि लाथमसँग ४४ रनको साझेदारी गरे । यस्तै पहिलो विकेटका लागि योङ्ग र कोन्वेले ६१ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन जोश हेजलउड र कप्तान प्याट कमिन्सले समान दुई तथा ग्लेन म्याक्सवेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर सुरुआती ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ८८ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले ६७ बलमा १० चौका र सात छक्काको मद्दतले एक सय ९ रनको योगदान गरे । 

यसैगरी डेभिड वार्नरले ६५ बलमा पाँच चौका र ६ छक्काको मद्दतले ८१, ग्लेन म्याक्सवेलले ४१, जोस इङ्लिसले ३८, कप्तान प्याट कमिन्सले ३७, मिचेल मार्सले ३६, स्टेभन स्मिथ र मार्नुस लाबुसेनले समान १८ रन बनाए ।

पहिलो विकेटका लागि हेड र वार्नरले १ सय ७५, सातौं विकेृटका लागि कमिन्स र इङ्लिसले ६२ तथा छैटौं विकेटका लागि म्याक्सवेल र इङ्लिसले ५१ रनको साझेदारी गरे ।

न्युजिल्यान्डका लागि  ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले समान तीन, मिचेल स्यान्टनरले दुई तथा म्याट हेनरी र जेम्स निशमले समान एक विकेट लिए ।