मोन्टी देशाइ

ग्लोवल क्वालिफायरमा नेपालले गर्व गर्ने धेरै क्षण छन्ः देशाइ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले खेलाडीहरुको प्रदर्शन गर्व गर्न लायकको रहेको बताएका छन् ।

आइसिसी एकदिवसीय विश्वकप छनोट(ग्लोवल क्वालिफायर) खेलेर शुक्रबार स्वदेश फर्किएपछि देशाइले खेलाडीहरुको प्रशंसा गरेका हुन् ।

‘प्रतियोगितामा धेरै गर्व गर्नुपर्ने धेरै क्षण छन् । हामीले धेरै अनुभव बटुलेर आएका छौँ,’ देशाइले भने ,‘पहिलो खेलमै जिम्बावेविरुद्ध कुशल र आसिफले १ सय ७१ रनको साझेदारी गरेका थिए । हाम्रो लागि सर्वप्रथम गर्व गर्ने क्षण यही नै थियो । त्यसपछि, अमेरिकाविरुद्धको जितमा करण केसीले गरेको सानदार बलिङ प्रदर्शन अर्को बिर्सन नसक्ने क्षण हो ।’

‘यसैगरी ललित राजवंशीले वेस्ट इन्डिजविरुद्ध डेथ ओभरमा गरेको प्रदर्शन तारिफ योग्य थियो । अन्तिम खेलमा आइरल्यान्डविरुद्ध गुल्सन झा र सन्दीप लामिछानेको प्रदर्शनलाई पनि हामीले नजर अन्दाज गर्न मिल्दैन,’ देशाइले थपे । 

त्यस्तै प्रशिक्षक देशाइले कप्तान रोहित कुमार पौडेलको नेतृत्वको पनि खुलेरै प्रशंसा गरे ।

‘हामीसँग युवा कप्तान छ, जसले टोलीलाई राम्ररी नेतृत्व गरिरहेको छ । रोहितले तार्किक रुपमा टोलीको जिम्मेवारी सम्हालिरहेका छन्,’ देशाइले भने  ।

नेपालले जिम्बावेमा भएको ग्लोवल क्वालिफायरमा सोचे अनुरुपको प्रदर्शन भने गर्न सकेन । समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा जिम्बावेसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रन र चौंथो खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले हारेको थियो ।

समूह चरण बाहिरिएको नेपालले प्लेअफमा युएईलाई ३ विकेटले पराजित गरेको थियो । आफ्नो अन्तिम खेलमा भने नेपालले आयरल्यान्डविरुद्ध २ विकेटको पराजय ब्यहोरेको थियो ।