आइसिसी एकदिवसीय विश्वकप छनोट

एकदिवसीय विश्वकप छनोटः नेपालको पहिलो जित

काठमाडौं । भिम सार्कीको अर्धशतकप्रेरित नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोवल क्वालिफायर) को दोस्रो खेलमा अमेरिकामाथि ६ विकेटको जित निकालेको छ ।

नेपालको यो पहिलो जित हो । पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो ।

यसैगरी अमेरिका लगातार दोस्रो खेलमा पराजित भएको छ । अमेरिकाले वेस्ट इन्डिजसँग ३९ रनको पराजय ब्यहोरेको थियो ।

जिम्बावेको हरारेस्थित टागासिंगा स्पोर्टस क्लबमा दुई सय आठ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

नेपालका लागि भिमले एक सय १४ बलमा सात चौका र एक छक्काको मद्दमा अविजित ७७ रन बनाए । यसैगरी दीपेन्द्रसिंह ऐरीले अविजित ३९, कुशल भुर्तेलले ३९, कप्तान रोहितकुमार पौडेलले १६, कुशल मल्ले १३ र आसिफ शेखले १२ रन जोडे ।

पाँचौं विकेटका लागि भिम र दीपेन्द्रले अविजित ७४ रनको साझेदारी गरे ।

अमेरिकाका लागि नोस्तुश केन्जिगे, शौरभ नेत्रभाल्कर, निसर्ग पेटल र स्टेभन टाइलरले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याङिको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका लागि शयान जहान्गिरले ७९ बलमा १० चौका र तीन छक्काको मद्दमा एक सय रन बनाए । यसैगरी सुशान्त मोदनीले ४२, गजानन्द सिंहले २६ र जेसी सिंहले १२ रन जोडे ।

आठौं विकेटका लागि जहान्गिर र जेसी सिंहले ४२ रनको साझेदारी गरे ।

नेपालका लागि करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।

तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिज तथा अमेरिकाले नेदरल्यान्ड्सको सामना गर्नेछन् ।