टेबल टेनिस

नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

काठमाडौं । नेपालकी नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिपको छनोटमा सहभागीता जनाउने भएकी छिन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को समूह ‘एच’बाट विजेता हुँदै नविता अघिल्लो चरणमा प्रवेश गरेकी हुन् ।

शुक्रबार भएको खेलमा नविताले बंगलादेशकी कोइ कोइ साइ मार्मालाई ३–१ को सेटमा पराजित गरिन् । लगातार दुई सेट ११–९, ११–६ ले जितेकी नविता तेस्रो सेट ४–११ ले गुमाएकी थिइन् । तेस्रो सटमा उत्कृष्ट पुनरागमन गर्दै नविताले सेट ११–७ ले जितेकी हुन् ।

प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बनिन् । अब, एसियन च्याम्पियनसिप छनोटमा सफल भए नविताले विश्व च्याम्पियनसिपमा सहभागी हुन पाउनेछिन् ।

समूह ‘एच’ मा नविताले दुई खेलबाट चार अंक जोड्दै शीर्षस्थानमा रहिन् । यस अघि नविताले पहिलो खेलमा श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गरेकी थिइन् । सहज जित निकाल्ने क्रममा नविताले ११–३, ११–९ र ११–१० ले जित हासिल गरेकी हुन् ।

यसैगरी महिलातर्फकै खेलमा समूह ‘ए’ बाट भारतकी मनिका बट्रा, समूह ‘बी’ बाट भारतकी श्रीजा अकुला, समूह ‘सी’ बाट भारतकी रीथ रिस्या टेनिसन, समूह ‘डी’ बाट भारतकी अर्चना गिरिस कमाथ, समूह ‘इ’ बाट भारतकी दिया पाराङ चितल, समूह ‘एफ’ बाट भारतकी विमन्दी सन्दिन्सा  स्वा र समूह ‘एच’ बाट माल्दिभ्सकी फाथिमथ धिमा अलि छनोट भएकी छिन् ।

आठ खेलाडी छनोट भइसक्दा बाँकी आठ खेलाडीको छनोट हुन बाँकी छ ।  वरियता ९ देखि १६ सम्मको बाँकी छनोट खेल भोलि हुनेछन् । यस बरियतामा नेपालका खेलाडी स्थान बनाउन असफल भएसँगै एसियन च्याम्पियनसिप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठले १७ देखि २४ बरियतासम्म प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी पुरुषतर्फका छनोट भने अहिले जारी छ । पुरुषतर्फ पहिलो दिन संयोग कपाली र बिनेश खनियाले जित हात पारेका थिए ।

एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट हुनेछन् । नेपालबाट भने पाँच पाँच खेलाडी सहभागी भएका थिए ।