काठमाडौं । शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले कोशी प्रदेशविरुद्ध ३६-० को एकतर्फी जित दर्ता गर्यो ।
आर्मी समूह ‘ए’ को विजेता तथा कोशी समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।
समुह चरणमा आर्मीले बागमती प्रदेशलाई ५४-०, एफिएफलाई १७-१२ र मधेश प्रदेशलाई ४४-० ले पराजित गरेको थियो ।
यता कर्णालीसँग १२-० ले हार बेहोरेको कोशीले सुदूरपश्चिम प्रदेशलाई १७-० ले हराएको थियो ।
दोस्रो सेमिफाइनलमा एपिएफले कर्णाली प्रदेशविरुद्ध ३१-५ को सानदार जित निकाल्यो ।
एपिएफ समूह ‘ए’ को उपविजेता तथा कर्णाली समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।
समूह चरणमा आर्मीसँग १७-१२ को हार बेहोरेको एपिएफले मधेशविरुद्ध ५८-० र बागमतीविरुद्ध ५०-० को जित निकालेको थियो ।
यता कर्णालीले सुदूरपश्चिमलाई ३२-० र कोशीलाई १२-० ले पराजित गरेको थियो ।