जेष्ठ १९, २०८२ आइतबार | १६:०७:३७
हरियाणाले गर्याे घनश्याम राेक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन हरियाणाले गर्याे घनश्याम राेक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
शनिबारको दिन

नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो

सिड्नी । ‘म टोटनहमको समर्थक हुँ । मलाई थाहा छ, तपाईं आर्सनललाई समर्थन गर्नुहुन्छ । तर पनि हामी दुई साथी बन्न सक्छौं । मलाई फुटबल खेल्न मनपर्छ । तर मलाई यो देशमा सबै बालबालिकाले फुटबल खेल्न पाउँदैनन् भन्ने चिन्ता छ । बेलायती सरकारले खेलकुद पूर्वाधारमा अझ धेरै लगानी गर्नुपर्छ, फुटबल मैदानमा अझै धेरै लगानी गर्नुपर्छ भन्ने लाग्दैन ?’ एक बालकले बेलायती प्रधानमन्त्रीलाई सोधेको प्रश्न हो यो ।

विश्व फुटबल, विशेषगरी क्लब फुटबलका लागि बेलायतलाई ‘केन्द्रबिन्दु’ मानिन्छ । व्यावसायिक फुटबलको उत्कर्षमा पुगेको बेलायतमा समेत एक बालकले यसरी मैदानको माग गरिरहेका छन् । एक बालकले मैदान अपुग भएको गुनासो, त्यो पनि सिधै प्रधानमन्त्रीसमक्ष राखिरहेका छन् । जुन हाम्रो नेपाली सन्दर्भमा अचम्म लाग्ने कुरा हो । धेरैलाई यो असम्भव लाग्न सक्छ ।

नेपालमा झापा वा डडेल्धुराका एक बालकले प्रधानमन्त्रीलाई फुटबल खेल्न मैदान बनाइदिन आग्रह गरिरहेको दृश्य परिकल्पना गर्न सकिँदैन । ‘भगवान्को रूप’ नमानुन्जेल कुनै पनि बालकको प्रधानमन्त्री वा शीर्षस्तरका राजनीतिक नेतासँग साक्षात्कार असम्भव छ । अर्को एउटा अवस्थामा पनि कुनै सामान्य बालकले त्यस्तो अवसर पाउँछ । त्यो कुन अवस्था भने कुनै शीर्ष नेता वा मन्त्री या प्रधानमन्त्रीलाई कुनै ‘स्टन्ट’ गर्न मन लागेको बेला ।

बेलायतजस्तो विश्व फुटबलले नै उदाहरणीय रूपमा हेर्ने गरेको देशमा मैदानलाई यति धेरै महत्व दिइन्छ । मैदानको सतह, मुलायमपन र घाँसलगायतका विषयमा त्यहाँको फुटबल प्रशासन घोत्लिइरहन्छ । 

पुरै बेलायतको कुरा छाडौं, इङ्ल्यान्डमा मात्र झन्डै ३० हजारभन्दा बढी घाँसे फुटबल मैदान रहेको अनौपचारिक तथ्यांक छ । गत मार्चमा मात्र बेलायत सरकारले ग्रासरुट फुटबलमा प्रयोग हुने पूर्वाधार स्तरोन्नति गर्न १० करोड पाउन्ड विनियोजन गरेको थियो । त्यसमध्ये ८ करोडभन्दा बढी रकम इङ्ल्यान्डमा मात्र खर्च हुनेछ । यसरी विनियोजित रकम स्थानीय स्तरका फुटबल मैदान, चेन्जिङ रुम, गोलपोस्ट र फ्लडलाइट ‘अपग्रेड’ का लागि प्रयोग हुनेछ ।

एन्फा मुख्यालय मैदान । 

बेलायतले शताब्दीभन्दा लामो फुटबल इतिहासमा अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि भनेको १९६६ मा विश्वकपको उपाधि जित्नु हो । फुटबलको जननी मानिने बेलायतले अहिलेसम्म त्यसबाहेक अरू कुनै अन्तर्राष्ट्रिय उपाधि जितेको छैन । तर विश्व फुटबलमा बेलायतको इज्जत र प्रभाव अरू सबैको भन्दा बढी छ । किनकि उनीहरूलाई थाहा छ, ‘फुटबल के हो भनेर ? फुटबल कसरी खेलिन्छ भनेर ? फुटबल खेल्न के के चाहिन्छ र कस्तो स्तरको चाहिन्छ भनेर ? अनि फुटबल खेलका आधारभूत आवश्यकतामध्ये पनि सबैभन्दा पहिला के, त्यसपछि के जस्तो सूची पनि ?’

कारण यही हो, बेलायतजस्तो विश्व फुटबलले नै उदाहरणीय रूपमा हेर्ने गरेको देशमा मैदानलाई यति धेरै महत्व दिइन्छ । मैदानको सतह, मुलायमपन र घाँसलगायतका विषयमा त्यहाँको फुटबल प्रशासन घोत्लिइरहन्छ । सरकारले समेत महत्व दिन्छ । किनकि सतह राम्रो भएन, मैदान धेरै कडा भयो या उपयुक्त अवस्थाको घाँस भएन भने प्राविधिक रूपमा खेल राम्रो हुन सक्दैन । बल राम्ररी रोल हुँदैन । ब्याड बाउन्स हुन्छ । जसले गर्दा खेलाडीको अनुमानहरू मिल्दैनन् । राम्रो खेलाडी पनि ब्याड बाउन्समा पर्दा जोकर हुने खतरा रहन्छ । सँगै खेलाडी तथा रेफ्रीहरू घाइते हुने समस्या एकदमै बढी हुन्छ ।

आजसम्म नेपालमा फुटबल चलाउनेहरूले सरकारसँग देशभर यतिवटा फुटबल मैदान बनाउँ भनेर माग राखेको सुनिएको र देखिएको छैन ।

नेपालमा फुटबल पूर्वाधारको आवश्यकतामाथिको बहस नयाँ विषय होइन । तर यो बहस गरिरहनेका लागि सबैभन्दा महत्त्वपूर्ण ‘रंगशाला’ हो । उनीहरूका लागि पूर्वाधार भनेकै रंगशालामात्र हो । अनि ‘पर्याप्त रंगशाला भए नेपालले फुटबलले उसै फड्को मारिहाल्छ’, बसहकर्ताहरूको निक्र्योल यही छ ।

नेपाली फुटबलको सबैभन्दा माथिल्लो स्तर सहिद स्मारक लिगको ‘ए’ डिभिजनमा खेलाडी र प्रशिक्षकको भूमिका निर्वाह गरेका युगलकिशोर राई यो पंक्तिकारसँगको भलाकुरासीमा भन्ने गर्थे, ‘भाइ, हामीलाई सुरुमा मैदान चाहिएको छ, रंगशाला त पछि बनाउँदै गर्दा भइगयो ।’ खासमा कुरा यही हो, चाहिएको धेरैभन्दा धेरै मैदान हो ।

तर, आजसम्म नेपालमा फुटबल चलाउनेहरूले सरकारसँग देशभर यतिवटा फुटबल मैदान बनाउँ भनेर माग राखेको सुनिएको र देखिएको छैन । उनीहरूलाई लाग्छ, यो त सामान्य माग वा काम हो । यति जाबो कुरा पनि माग्ने हो र ? हो, फुटबलमा मैदान सामान्य चिज हो । यही सामान्य चिज आधारभूत पनि हो । अंग्रेजीमा भनिन्छ नि ‘पहिले सामान्य कुरामा ध्यान देऊ ।’

झापाको डोमलाल राजवंशी फुटबल मैदान ।

प्रत्येक वर्ष एउटा समय आउँछ, जब देशभर फुटबल प्रतियोगिता आयोजना हुन्छन् । सुदूरपश्चिमको धनगढीदेखि पूर्वको ताप्लेजुङसम्म बग्रेल्ती नकआउट प्रतियोगिता हुन्छन् । यही अवधिमा सामाजिक सन्जालमा एउटा तस्बिरले सबैलाई आकर्षित गर्छ, त्यो हो झापा कप खेलाइने मैदानको तस्बिर । सम्भवतः नेपालमा सबैभन्दा उत्कृष्ट देखिने मैदान त्यही हो । कम्तीमा १५ दिन वा एक महिनाका लागि । भन्नलाई डोमालाल राजवंशी रंगशाला भनिए पनि त्यो केवल मैदान हो । देशका बाँकी नकआउट प्रतियोगिता गराइने मैदानभन्दा धेरै उत्कृष्ट ।

 एसियाली फुटबलको नियामक संस्था एएफसीले दशरथ रंगशालालाई अयोग्य घोषित गर्यो । यसपालि रंगशाला अयोग्य हुनुमा मैदान कारक होइन ।

मोफसलका प्रतियोगितामा सधैं पुरस्कार राशिको प्रतिस्पर्धा हुन्छ । नयाँदेखि ढल्नबाट जसोतसो रोकिएका रंगशालाका प्यारापिट रंगाइन्छन् । तर मैदानमा भने धुलो, कतै बालुवा उडिरहेको हुन्छ । ढलान गरेजस्तो जब्बर रातोमाटोको मैदान हुन्छ । कतैको मैदान तस्बिर वा भिडियोमा हेर्दा हरियो देखिए पनि सतह डरलाग्दो हुन्छ, जताततै खाल्डाखुल्डी । पुरस्कार राशिमा प्रतिस्पर्धा गर्ने आयोजकको मैदान राम्रो बनाउनेतिर ध्यान जाँदैन । मानौं कि ‘फुटबलमा चाहिने त बाँसकै भए पनि प्यारापिट हो । झिल्केमिल्के पारिएको स्टेज हो । ठुल्ठूला प्रायोजक हुन् । मैदान त जस्तो भए पनि काम चलिहाल्छ नी !’

जबकि कुनै पनि फुटबल खेल प्राविधिक उत्कर्षमा पुग्न सबैभन्दा बढी आवश्यक केही छ भने त्यो स्तरीय मैदान हो । फुटबलका लागि पहिलो सर्त भनेकै मैदान हो । पहिला मैदान अनि त्यसपछि मात्र अरू कुरा हुन् ।

धेरैले बहाना गर्छन, ‘दशरथ रंगशालाकै मैदानको त्यस्तो हाल छ, काठमाडौं बाहिरको के हिसाबकिताब ?’ पटक–पटक समाचार आइरहन्छ, एसियाली फुटबलको नियामक संस्था एएफसीले दशरथ रंगशालालाई अयोग्य घोषित गर्यो । यसपालि रंगशाला अयोग्य हुनुमा मैदान कारक होइन । सुरुमा मैदानबाट सुरु भएको रंगशालालाई अयोग्य बनाउने नियोजित प्रयासले अन्त्यमा सुरक्षालाई कारण देखाएको छ ।

पाको भइसकेको दशरथ रंगशाला भत्काएर नयाँ बनाउने विकल्प छ । तर, यो विकल्प हालका लागि कल्पना बाहिरको कुरा हो । यही रंगशाला भजाएर फुटबल संघ चलिरहेको छ ।

यहाँ चर्चा गर्न खोजिएको रंगशालाको अन्य आयामको होइन । चर्चाको विषय फुटबलको अस्तित्वका लागि मात्र पनि मैदानको आवश्यकता कति छ भन्ने हो । हो, एएफसीले सुरक्षाको कारण देखाए पनि दशरथ रंगशालाको मैदान असाध्यै कमसल छ । कति कमसल छ भन्ने कुरा त्यहाँ खेलेका विदेशी खेलाडीलाई सोधे थाहा भइहाल्छ । विदेशी मात्र किन ? नेपाली खेलाडीलाई नै सोधौं न । उनीहरूले पनि औपचारिक कुराकानीमा एन्फा वा अरू कसैको डरले नबोल्लान । अनौपचारिक कुराकानीमा मैदानको दुर्दशा र त्यसले खेलमा पारेको दुस्प्रभाव अनि घाइते भएका थुप्रै कथा सुनाइहाल्छन् । केही समयअघि भुटानी टिमसँग काठमाडौँ ओर्लिएका जापानी खेलाडी केइसुके होन्डाले दिएको अभिव्यक्ति इन्टरनेटबाट मेटिएको छैन ।

दशरथ रंगशालामा अभ्यास गर्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टिम ।

होन्डाले जे भने त्यो सत्य थियो । तर उनको भनाइले नेपाली फुटबललाई अलिकति पनि बिझाएन । बिझाउनु पनि किन र ? यस्तो भन्ने होन्डा पहिलो विदेशी थिएनन् । अनि यसरी नेपाली फुटबलको अन्तर्राष्ट्रिय बदनामी भएको यो पहिलो पटक थिएन । वर्षौंदेखि नबिझाएका वचनहरूले अहिले एक्कासि किन बिझाउनु ? बिझाउने भए दशरथ रंगशालाको मैदानमा उहिल्यै डोजर चलिसक्थ्यो । पूरै खनिन्थ्यो । र नयाँ मैदान बनाइन्थ्यो । ठेकेदारलाई केही साताको ठेक्का दिएर दुबो रोप्नु मैदान नयाँ बनाउनु होइन भन्ने सम्मको सामान्य ज्ञानसमेत राष्ट्रिय खेलकुद परिषद् र एन्फा दुवैसँग नभएर यो नाटक मञ्चन गरिएको त पक्कै थिएन ।

पाको भइसकेको दशरथ रंगशाला भत्काएर नयाँ बनाउने विकल्प छ । तर, यो विकल्प हालका लागि कल्पना बाहिरको कुरा हो । यही रंगशाला भजाएर फुटबल संघ चलिरहेको छ । अब त निजी क्षेत्र पनि थपिएको छ, फ्रेन्चाइज लिगको नाममा । जसका लागि गतिलो मैदानभन्दा महत्त्वपूर्ण खेल खिच्ने क्यामेराको लेन्स हो ।

 नेपालमा फुटबल नियमन गर्ने भनेर स्थापना गरिएको संस्था एन्फासँगै पनि गतिलो मैदान छैन । एन्फा कम्प्लेक्समा रहेको एस्ट्रो ट्रर्फले उमेर समूहदेखि सिनियर टिमसम्मको अभ्यास धानिरहेको छ ।

फुटबलको बेसिक के हो भने आधिकारिक खेल रंगशालामा गराइन्छ, खेलाडीले अभ्यास फरक मैदानमा गर्छन् । तर नेपाली फुटबलले अहिलेसम्म बनाएका मैदान कतिवटा छन् ? सम्भवतः कसैसँग तथ्यांक छैन । तथ्यांक त मैदान बनाएपछि न हुन्छ । हुँदै नभएको मैदानका के तथ्यांक ?

फ्रेन्चाइज लिग होस् वा ‘ए’ डिभिजन लिग, सहभागी टिमका लागि जति टाउको दुखाइ प्रायोजक खोज्नलाई हुन्छ, त्योभन्दा बढी टाउको दुखाइ अभ्यास मैदान व्यवस्थापन गर्नमा हुन्छ । यो हरेक वर्ष वा फुटबल सिजन सुरु हुँदा देखा पर्ने समस्या हो । टिमहरू काठमाडौं उपत्यकामा दुबो सट्टा गिट्टी र बालुवाले जरा गाडेका मैदानमा पालो पर्खिरहेका हुन्छन् । उसो त लिग खेल्ने क्लबहरूले आफ्नै मैदान बनाउनुपर्ने हो । तर मनसुनी नेपाली फुटबलमा मैदान प्रशिक्षक र खेलाडीबाहेक अरूका लागि प्राथमिकता नै होइन ।

हिलम्मे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै चर्च ब्वाइज युनाइटेड र पारो एफसी ।

क्लबहरूको कुरा छाडौं, नेपालमा फुटबल नियमन गर्ने भनेर स्थापना गरिएको संस्था एन्फासँगै पनि गतिलो मैदान छैन । एन्फा कम्प्लेक्समा रहेको एस्ट्रो ट्रर्फले उमेर समूहदेखि सिनियर टिमसम्मको अभ्यास धानिरहेको छ । लिगका प्रतिस्पर्धा गराइरहेको छ । आवश्यकता पर्दा अन्तर्राष्ट्रिय खेल पनि त्यहाँ भएका उदाहरण छन् ।

आजको दिनमा काठमाडौं बाहिर राष्ट्रिय टिमको क्याम्प राख्ने हो भने राष्ट्रिय टिमस्तरको मैदान कहिँकतै देखिँदैन । 

दशकौं पुरानो यही कृत्रिम मैदानमा प्रधानमन्त्रीको नाममा समेत प्रतियोगिता गरिन्छ, लाखौं खर्च गरेर विश्व फुटबल स्टार बोलाइन्छ । ती स्टारले भन्दा हुन्, ‘मलाई बोलाउनमा खर्च गर्नुभन्दा गतिलो मैदान बनाउनु नि !’ तर यस्ता कुरा प्रधानमन्त्रीसम्म कसले पुर्याइदिनु ? पुर्याइहाले पनि सर्वज्ञानी प्रधानमन्त्रीलाई मैदानको आवश्यकताबारे कसले बुझाइदिनु ?

एन्फाले आक्कलझुक्कल आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलका लागि आउने विदेशी टिमको अभ्यास अचेल सेनाको मैदानमा भएको देखिन्छ । सेनाले आफ्नो मुख्यालय भद्रकालीमा मैदान बनाएको छ । यो मैदान नभएको भए अभ्यास त्यही पुरानो एस्ट्रो टर्फमा गराउनुको विकल्प हुँदैनथ्यो ।

फुटबल विकास र प्रवद्र्धनका लागि सञ्चालन हुने ग्रासरुट कार्यक्रम पनि मैदानबिना सम्भव छैनन् । यो भनिरहनुपर्ने वा लेखिरहनुपर्ने कुरै होइन । तर नेपालमा मैदानको आवश्यकता रंगशालाको मागले ओझेलमा पार्ने गरेको छ । यहाँ विडम्बना त के छ भने, पछिल्लो समय जे जति रंगशाला बनाइएका छन्, तिनका मैदान पनि कमसल स्थितिमा छाडिएका छन् । आजको दिनमा काठमाडौं बाहिर राष्ट्रिय टिमको क्याम्प राख्ने हो भने राष्ट्रिय टिमस्तरको मैदान कहिँकतै देखिँदैन । मैदान पूर्ण रूपमा प्रयोगमा आउनआवश्यक पर्ने चेन्जिङ रुम त परको कुरा भयो ।

स्थानीय पालिकाहरू ठुल्ठूला रंगशाला बनाउने सपना देखिरहेका हुन्छन्, वर्षैपिच्छे करोडौं रकम विनियोजन हुन्छ । तर त्यसरी विनियोजित रकमले रंगशालाको सपना नजिक ल्याउन सकेको देखिँदैन । 

ती बेलायती बालकले आफूजस्ताका लागि फुटबल मैदान मागेका हुन् । उनले प्रधानमन्त्रीसँग भनेका छन्, ‘मलाई फुटबल खेल्न मनपर्छ ।’ नेपालमा फुटबल खेलप्रति आकर्षित हुने बालबालिकाको संख्या नै घटिरहेको हुनसक्छ । यसको एक कारण मैदानको अभाव हो । स्थानीय स्तरमा ग्रासरुट फुटबल मैदानबिना असम्भव छ ।

स्थानीय पालिकाहरू ठुल्ठूला रंगशाला बनाउने सपना देखिरहेका हुन्छन्, वर्षैपिच्छे करोडौं रकम विनियोजन हुन्छ । तर त्यसरी विनियोजित रकमले रंगशालाको सपना नजिक ल्याउन सकेको देखिँदैन । जबकि त्यति रकमले ठाउँ ठाउँमा मैदान भने बन्न सक्छन् । र, आखिरमा फुटबलका लागि रंगशालाभन्दा मैदान अपरिहार्य हो ।