काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित कार्यसमितिलाई बुधबार स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
गत महिना एनएसजेएफको २०औं साधारण सभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
पदेन सदस्यका रुपमा एआईपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र नेपाल पत्रकार महासघको एसोसिएट प्रदेशका उपाध्यक्ष ध्रुवकुमार तुलाधर रहेको कार्यसमितिमा पछि प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनित गरिएको थियो । शाक्यले एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् ।
स्वागत कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवर्धन गर्न दुवै संस्थाले आ-आफ्नो दायरा भित्र रहेर सहकार्य गर्दै आएको बताए ।
उनले एनओसीलाई लिएर अहिले भइरहेको विवादमा पक्षविपक्षबीचको सीमाङ्कन ‘क्लियर’ गरेर नेपाली खेलकुदलाई स्थापित गर्नुपर्ने धारणा पनि राखे। अध्यक्ष श्रेष्ठले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढीरहेको भन्दै नेपाली खेल पत्रकारको प्रशंसा पनि गरे ।
यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहंम र अदुदर्शीता नेपाली खेलकुदको समस्या रहेको कारण खेलाडीको भविष्य अन्योलमा परेको बताए । उनले आफूहरू सरकार विरोधी नभएको प्रष्टोक्ति दिँदै सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न आतुर रहेकाे बताए । खेलाडीको हकहितका लागि काम गर्ने आफूहरुको चाहनामा सरकारबाट सकारात्मक सहयोगको अपेक्षा राखेकाे महासचिव श्रेष्ठको भनाई थियो ।
एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तर्राष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था रहेको भन्दै दुवै संस्थाको सहकार्यको शृंखला लामो भएको बताए । उनले नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय मायन्ताप्राप्त ओलम्पिक कमिटीसँग सँधै सहकार्य गर्दै आएको बताउँदै नेपाली खेलकुदलाई आवश्यक पर्दा मञ्च सधै अग्रपंक्तिमा रहेर काम गर्न तत्पर रहेको बताए ।
सो क्रममा विगतमा सरकार र एनओसीबीचको समस्याका कारण नवौं साफमा नेपालको सहभागिता अन्योलमा रहँदा मञ्चको पहलकदमीमा समस्या समाधान भएर पाकिस्तानको इस्लामाबादमा नेपाली झण्डाको उपस्थिति गराएको स्मरण गरे ।
अध्यक्ष अधिकारीले पत्रकारिताको स्वरुप फरक भइरहेको अहिलेको डिजिटल युगमा नेपाली खेल पत्रकारहरुलाई अझ क्षमतावान बनाउन मञ्चको प्रयास रहने धारणा पनि राखे ।