काठमाडौं । विश्व खेलकुदमा रग्बी खेललाई गलत नजरले हेर्ने मानिसहरू अझै छन् । रग्बीलाई गलत नजरले हेर्नुको कारण एउटै छ, त्यो हो खेलले निम्त्याउन सक्ने जोखिम । रग्बी पूर्ण रूपमा एक कन्ट्याक खेल हो, जहा“ खेलाडीमा चोटपटकको उच्च जोखिम हुने गर्छ ।
सामान्यतः कुनै पनि खेल खेल्दा चोटपटक नलाग्ने भन्ने हुँदैन । तर, रग्बी त्यस्तो खेल हो, जसले गम्भीर चोट निम्त्याउन सक्छ । कहिलेकाहीँ त परिस्थितिले आपतकालीन अवस्थाको सिर्जना गर्ने गर्छ । कन्कसन, सोल्डर डिस्लोकेसन, घुँडाको लिगामेन्ट च्यातिने र गोलिगाँठो मर्किने जस्ता रग्बी खेलाडीले बोक्ने चोटका प्रकार हुन् । यी प्रायः खेलाडीमा ट्याकल, ठक्कर लाग्दा र लड्न पुग्दा हुने गर्दछ ।
रग्बीमा खेलाडीले लामो समयसम्म निरन्तर दौडिने र ट्याकल गरिरहनुपर्ने हुन्छ । खेलको तीव्रता उच्च भएका कारणले गर्दा चोटपटकको जोखिम पनि उत्तिकै भएको हो । खेलको तीव्रताकै कारण रग्बी विश्व खेलकुदको गाह्रो खेलमध्येमा पर्छ । रग्बी यस हिसाबमा पनि गाह्रो खेल हो कि खेलाडी जहिल्यै शारीरिक र मानसिक रूपमा तयारी अवस्थामा रहिरहनुपर्ने हुन्छ । अनि उनीहरूलाई कडा अनुशासनको विकल्प छैन । के खाने, कुन जुत्ता लगाउने भन्ने कुराले पनि रग्बीमा धेरै फरक पार्ने गर्छ ।
२०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गठन भएपछि रग्बीले विस्तारै गति लिन थाल्यो ।
पछिल्लो समय नेपालमा यही खेल चलायमान हुन थालेको छ । पछिल्लो दुई महिना उपत्यकाभित्र पुरुषको रग्बी फिप्टिन्स प्रतियोगिता र महिलाको सेभेन्स प्रतियोगिता भएको छ । वैशाख महिनाको सुरुआती सातामा नेपाल रग्बी संघले ललितपुरस्थित च्यासल रंगशालामा फिप्टिन्स रग्बी च्याम्पियनसिपको पाँचौं संस्करण सम्पन्न गरायो । गत सोमबार मात्र रग्बी संघको प्राविधिक सहयोगमा सहिद स्मृति स्पोर्टस एकेडेमीले पहिलो पटक रग्बी सेभेन्स महिला प्रतियोगिता आयोजना गर्यो ।

नेपाल रग्बी संघ २०५२ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ३७औं संघका रूपमा दर्ता भएको थियो । तर, सुरुआती समयमा केही गतिविधि गरेपछि संघ निस्क्रिय बन्यो । जसले गर्दा रग्बीले नेपाली खेलकुदमा खासै आकार लिन सकेन ।
यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गठन भएपछि रग्बीले विस्तारै गति लिन थाल्यो । पुनर्गठनपछि रग्बीका गतिविधिहरू विस्तार हुन थाले । घिसिङले राखेपमा सदस्यसचिवका रूपमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि त झन यो खेल नेपाली खेलकुदमा देखिने गरी एक्सपोजर पाउँदै गयो ।
सन् २०२२ मा बंगबन्धु रग्बी फिप्टिन्स प्रतियोगिता नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय फिप्टिन्स हो ।
नेपालले गत वर्षमात्र एसिया रग्बी सेभेन्स ट्रफीको आयोजना गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दुई दिने प्रतियोगितामा पुरुषका १४ र महिलाका ७ टोलीको सहभागिता थियो ।
नेपालको पुरुषमा सेभेन-ए-साइड र फिप्टिन-ए-साइड दुवैतर्फ टोली निर्माण छ । महिलातर्फ भने सेभेन-ए-साइड टोलीमात्र छ । सन् २०२२ मा बंगबन्धु रग्बी फिप्टिन्स प्रतियोगिता नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय फिप्टिन्स हो । ढाकामा घरेलु टोली बंगलादेशविरुद्धको खेलमार्फत रग्बी १५ मा प्रवेश गरेपछि बल्ल नेपालको विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्ने ढोका खुलेको थियो । टोली सोही वर्ष भारतमा सम्पन्न एसिया रग्बी डिभिजन ३ मा सहभागिता जनाउँदै विश्व रग्बीको क्यालेन्डरमा प्रवेश गरेको थियो ।

अन्तर्राष्ट्रिय सहभागिता हेर्ने हो भने नेपालबाट पुरुष र महिला दुवै टोलीले प्रतियोगितामा बराबरी सहभागिता जनाएका छन् । सन् २०१५ मा चेन्नईमा भएको प्रि-ओलम्पिक क्लालिफायरमा पुरुष टोलीले मात्र भाग लिएको थियो । त्यसयता भने महिला/पुरुष दुवै टोलीले निरन्तर रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ ।
पछिल्लो समय नेपालमा रग्बीको गतिविधि बढिरहेको छ ।
मुख्य कुरा यो छोटो इतिहासबीच के नेपाली खेलाडीले निर्धक्क भएर रग्बी खेल्न सक्ने वातावरण छ त ?
नेपाली पुरुष रग्बीले असार ६ र ७ गते बंगलादेशसँग फिप्टिन्स सिरिज खेल्दै छ । अहिले टोली श्रीलंकन प्रशिक्षक लियोनार्ड डे जिल्बाको नेतृत्वमा बन्द प्रशिक्षणमा छ । टोलीले च्यासल मैदानमा प्रशिक्षण गर्दै आएको छ । यिनै खेलाडीको स्वेच्छिक सहयोगमा सहिद स्मृति स्पोर्टस एकेडेमीले पहिलो पटक रग्बी सेभेन्स महिला प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा पाँच प्रदेश र दुई विभागीय गरी सात टोलीको सहभागिता थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगितामा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा एपिएफलाई हराउँदै आर्मी च्याम्पियन बन्यो ।
फाइनलिस्ट एपिएफ र आर्मी दुवैले एकै दिन कुल ५ खेल खेलेका थिए । यो हुन आउँछ कुल ३५ मिनेट । सेभेन्स प्रतियोगितामा सात मिनेटको दुई हाफ खेलिने गर्छ । यति धेरै खेल खेल्न एपिएफ र आर्मीलाई त्यस्तो गाह्रो भएन । किनभने यी टोलीमा राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीको बाहुल्य थियो ।
नेपाल रग्बी संघका मेडिकल संयोजक लक्ष्मण अधिकारी खेलाडीको शारीरिक अवस्था पहिलेभन्दा सुध्रिएको तर्क दिन्छन् ।
विभाग बाहिरका टोलीको अवस्था भने ठ्याक्कै उल्टो थियो । खेलाडी अंक ल्याउनै संघर्ष गरिरहेका थिए । नियमित प्रशिक्षण नहुँदा खेलाडीले तीव्र गतिमा खेल्न सकेनन् । प्रदेशका टोलीले प्रतियोगिताका लागि भनेर मुस्किलले हप्ता दिन प्रशिक्षण गरेका थिए । यही कारण यी टोलीले विभागको चुनौती पन्छाउन सकेनन् । फिटनेसमा संघर्ष गरिरहेकै बेला कर्णालीका खेलाडी मैदानमै लड्न पुगेको दृश्यले नेपाली रग्बी खेलाडीको वास्तविक चित्रण गरिदियो । एपिएफविरुद्धको सेमिफाइनल भिडन्तमा कर्णालीका खेलाडीलाई एम्बुलेन्समै बाहिर लगिएको थियो ।

महिला र पुरुष दुवै विधामा खेलाडीको पछिल्लो अवस्था के छ ? नेपाल रग्बी संघका मेडिकल संयोजक लक्ष्मण अधिकारी खेलाडीको शारीरिक अवस्था पहिलेभन्दा सुध्रिएको तर्क दिन्छन् ।
‘खेलाडी अहिले फिटनेसका बारेमा जानकार छन् । खाने कुरा, अनुशासनमा काम गरिरहेका हुन्छन् । जसले गर्दा इन्जुरीलाई लिएर त्यति चिन्ता छैन,’ अधिकारी भन्छन्, ‘आम जनमानसमा रग्बीलाई चोट बोक्ने खेल भन्छन् । तर, यो शारीरिक मात्र नभई टेक्निकल खेल पनि हो । फिटनेससँगै खेलाडी आफै पनि इन्जुरीप्रति सजग हुन आवश्यक छ ।’
आम जनमानसको दृष्टिकोण, रग्बीलाई हेर्ने नजर, समयमा प्रतियोगिता नहुने, जे जस्तो भए पनि नेपाली रग्बीलाई उकास्न खेलाडी जोसका साथ अगाडि बढिरहेका छन् ।
रग्बी खेलमा विश्व रग्बीले सञ्चालन गरेको ‘लेभल टु’ मेडिकल कोर्स गरेका चिकित्सकले मात्र खेलाडीलाई आकस्मिक उपचार गर्न पाउने नियम छ । यी चिकित्सकलाई आकस्मिक उपचारका सबै ‘प्रोटोकल’हरू थाहा हुन्छ । ‘सामान्यतः रगत बग्दा र मस्तिष्कमा आघात पुग्दा खेलाडीलाई मैदानमा पुनः फर्कन दिइँदैन । मांसपेसीमा सामान्य चोट हुँदा परिस्थिति सामान्य भयो भने खेलाडीले पुनः खेल्न सक्छन्,’ अधिकारीको बुझाइ छ ।
आम जनमानसको दृष्टिकोण, रग्बीलाई हेर्ने नजर, समयमा प्रतियोगिता नहुने, जे जस्तो भए पनि नेपाली रग्बीलाई उकास्न खेलाडी जोसका साथ अगाडि बढिरहेका छन् । रग्बीमाथि उठेका प्रश्नहरूमा पनि यी खेलाडीले सकारात्मक जवाफ दिने गरेका छन् । राष्ट्रिय टोलीका खेलाडी निरोज कार्की भन्छन्, ‘सतर्कतापूर्ण ढंगले खेल्ने हो भने रग्बी त्यस्तो डरलाग्दो खेल होइन । यसमा शारीरिकभन्दा प्राविधिक कुरा धेरै हुन्छ । आम जनमानसको भ्रम चिर्न हामी लागिरहेका छौं । नेपाली रग्बीलाई माथि उकास्ने प्रयासमा छौं ।’
