काठमाडौं । गुजरात टाइटन्सविरुद्ध २० रनको जित निकालदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ ।
हारसँगै गुजरातले आइपिएल यात्रा टुंगिएको छ । विजेता मुम्बईले भने फाइनल प्रवेशका लागि पञ्जाव किंग्सको सामना गर्नेछन् ।
गञ्जावले पहिलो क्वालिफयरमा रोयल च्यालेन्जर्स बेङ्लुरुसँग हार बेहोरेको थियो ।
शुक्रबार मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा मुम्बईले प्रस्तुत गरेको २२९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै २०८ रन बनायो ।
गुजरातका लागि साई सुदर्शनले ४९ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी वासिङ्टन सुन्दरले ४८, शेर्फन रदरफोर्डले २४, कुशल मेन्डिसले २०, राहुल टेवाटियाले अविजित १६ र शहारुख खानले १३ रज बनाए ।
साईले तेस्रो विकेटका लागि वासिङटनसँग ८४ र दोस्रो विकेटका लागि कुशलसँग ६४ रनको साझेदारी गरेका थिए ।
मुम्बईका लागि ट्रेन्ट बोल्टले दुई तथा जसप्रीत बुमराह, रिचर्ड ग्लिसन, मिचेल स्यान्टनर र अश्विनी कुमारले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२८ रनको योगफल तयार पारेको थियो ।
मुम्बईका लागि रोहित शर्माले ५० बलमा ९ चौका र चार छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरे । यसैगरी जोनी बेयरिस्टोले ४७, सूर्यकुमार यादवले ३३, लितक बर्माले २५ र कप्तान हार्दिक पाण्डेयाले अविजित २२ रन बनाए ।
रोहितले पहिलो विकेटका लागि जोनीसँग ८४ तथा दोस्रो विकेटका लागि सूर्यकुमारसँग ५९ रनको साझेदारी गरेका थिए ।
गुजरातका लागि प्रसिद्ध कृष्ण र साई किशोरले समान दुई तथा मोहम्मद सिराजले एक विकेट लिए ।