जेष्ठ ४, २०८२ शनिबार | ०८:१७:२२
शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान कोहलीको संन्यासः #२६९ साइन अफ लबाट सम्भव होला मोन्टीको जस्तो चमत्कार ? अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद क्लाइमेक्सतिर युरोपेली फुटबल ब्राजिलमा एन्सेलोट्टी: विश्व फुटबलमा इटालियन विशाल विरासतको नयाँ प्रमाण युद्ध विरामपछिको आइपिएल काठमाडौं लगातार दोस्रो पटक च्याम्पियन लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित सानदार जित निकाल्दै प्लानिङ ब्वाइज च्याम्पियन शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान कोहलीको संन्यासः #२६९ साइन अफ लबाट सम्भव होला मोन्टीको जस्तो चमत्कार ? अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद क्लाइमेक्सतिर युरोपेली फुटबल ब्राजिलमा एन्सेलोट्टी: विश्व फुटबलमा इटालियन विशाल विरासतको नयाँ प्रमाण युद्ध विरामपछिको आइपिएल काठमाडौं लगातार दोस्रो पटक च्याम्पियन लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित सानदार जित निकाल्दै प्लानिङ ब्वाइज च्याम्पियन
शनिबारको दिन काउन्टर अट्याक

अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद

काठमाडाैं । नेपालको खेलकुद अहिले निक्कै जटिल मोडमा छ । सजिलो भाषामा भन्दा ठिक ठाउँमा छैन । सरोकारवालाहरुको स्वार्थको चौराहामा अलपत्र छ, खेलकुद । अर्धन्यायिक निकायका ढोकाहरुमा छ । प्रशासनिक प्रमूखहरुका टेबलमा रुमल्लिइरहेको छ । मैदानमा भन्दा बढि नेपाली खेलकुद अड्डा अदालतमा अस्तित्व खोजिरहेको छ ।

सरकारको घोषणा कार्यान्वयन भएको भए कम्तिमा आजबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १०औं वृहत राष्ट्रिय खेलकुद सुरु हुनुपर्ने थियो । तर राष्ट्रिय खेलकुद परिषद (राखेप)को संरक्षक समेत रहने प्रधानमन्त्रीदेखि युवा तथा खेलकुद मन्त्री र अरु जिम्मेवार पदाधिकारीहरुले नै ‘सगौरव’ १०औं राष्ट्रिय खेलकुद नगर्ने घोषणा गरिसकेका छन् । राज्यको अरबौं रुपैयाँ खर्चिर बनेका सुर्खेतका नवनिर्मित खेल पूर्वाधार उजाड मौसममा उदास भएर प्रतियोगिता प्रतिक्षा गरिरहेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यालयमा ताल्चा लागेको धेरै भइसक्यो । अदालतको आदेश नमानेको आरोपमा सरकारले नै एनओसी खोल्न नदिएको हो । अध्यक्ष जीवनराम श्रेष्ठले आफै बनाएको विधान परिवर्तन गरेर तेस्रो कार्यकालका लागि पनि नेतृत्व लिएपछि एनओसी परिवार आफैभित्र पनि विभाजित अवस्थामा छ ।

नेपाली फुटबलको घर भनेर पुकारिने दशरथ रंगशालाले अन्तर्राष्ट्रिय हैसियत गुमाएको धेरै भइसक्यो । त्यो फर्किने र फर्काउने कुनै पहल छैन । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का विवादास्पद गतिविधिले निरन्तरता पाउँदा अर्को एउटा साधारणसभा विवादको थप कीर्तिमान कायम गर्दै अघिल्लो साता धुलिखेलमा सम्पन्न भयो । अदालतको आदेश र विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निर्णय एकातिर छ । अनि अर्कोतिर नेतृत्वको हठ र विपक्षी खेमाको संघर्ष छ । बीचमा नमज्जासँग फुटबल च्यापिएको छ । जसका कारण खेलाडी, प्रशिक्षक, रेफ्री, क्लबलगायतका सरोकारवाला निरन्तर पिल्सिइरहेका छन् ।

पूर्व अध्यक्ष गणेश थापालाई धुलिखेलमा सम्पन्न एन्फा साधारणसभामा प्रवेश गर्न रोकिदै । 

मैदानमा फुटबल छैन । नेपाली फुटबलको घर भनेर पुकारिने दशरथ रंगशालाले अन्तर्राष्ट्रिय हैसियत गुमाएको धेरै भइसक्यो । त्यो फर्किने र फर्काउने कुनै पहल छैन । अवस्था यतिसम्म दयनीय भइसक्यो की, नेपाल सायद विश्वकै एकमात्र यस्तो देश हो, जोसँग आफ्नो घरेलु मैदानसमेत छैन ।

राखेप र मन्त्रालयका टेबुल, अख्तियार, सार्वजनिक लेखा समिति र राष्ट्रिय सतर्कता केन्द्र तथा अदालतका कठघराहरुबाट नेपाली फुटबलले निकास खोजिरहेको छ । देशको फुटबल चलाउने सर्वोच्च निकाय एन्फा आफैमा निक्कै आलोचित छ । विवादित छ । अपारदर्सी छ । एन्फासँग फुटबलका कुनै योजना छैनन् । देशको फुटबल चलाउने नियमनकारी निकायसँग देखाउनका लागि मैदानभित्रका क्यालेन्डर पर्याप्त हुन्छन् । जुन क्यालेन्डरअनुसार मैदानमा फुटबल गुड्दैनन् ।

फुटबलमा नियमित कार्यान्वयनमा आउने अर्को तालिकाको तय अदालत वा न्यायिक निकायहरूले पनि गर्छन ।

एन्फासँग सतप्रतिसत कार्यान्वयनमा आउने अर्को खाले तालिका पनि हुन्छ । इमान्दारीसाथ कार्यान्वयन गरिने तालिका भनेको संख्याको खेलमा जित हासिल गर्नका लागि भट्टीमा बसिने कोठे बैठक, रणनीतिअनुसार राखिने औपचारिक बैठक र साधारणसभाहरु हुन् । जहाँ नेपाली फुटबल विकासका लागि गरिएका प्रयासहरुको घण्टौं लामा भाषण ठोकिन्छन् । फरक मतलाई पूर्णतया बर्जित गरिन्छन्, झुक्किएर आइपुगेका फरक मतलाई मज्जासँग ठेउल्यान्छ ।

फुटबलमा नियमित कार्यान्वयनमा आउने अर्को तालिकाको तय अदालत वा न्यायिक निकायहरूले पनि गर्छन । अख्तियार, विभिन्न तहका अदालतमा नेपाली फुटबलको मुद्धा छुट्दैनन् । छोटोमा भन्दा नेपाली फुटबलमा नेतृत्वलाई मैदानवाहिरका प्रशासनिक, आर्थिक र न्यायिक विषयले निक्कै व्यस्त बनाइरहेको छ । मैदानभित्रको खेलका लागि समय निकाल्ने फुर्सत छैन ।

एन्फाका पूर्व अध्यक्ष गणेश थापा (बायाँ) र वर्तमान अध्यक्ष पकंजविक्रम नेम्वाङ । 

  

लामो समयको आर्थिक, वैधानिक र शुसासनलगायतका विवादबाट मुक्त भएर केही पाइला चाल्न नभ्याउँदै नेपालको क्रिकेट पनि विवाद र मुद्धा–मामिलाको चरणमा फर्किएको छ । केही महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को सफलताबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको उच्चस्तरीय ब्राण्डिङ भएको थियो । तर त्यसैबाट नेपाल क्रिकेट संघ (क्यान) देखिने गरि दुई खेमामा विभाजित भयो ।

नेपाली खेलकुद भित्रका दुई ठूला र प्रभावशाली खेल फुटबल र क्रिकेट मैदानबाट अदालत सर्दा यिनका अभिभावकीय निकायको हालत झन टिठलाग्दो छ । 

लामो समयदेखि नेपाली क्रिकेटको नेतृत्व तहमा बसेर खेल  राजनीतिमा पोख्त भएका अध्यक्ष चतुरबहादुर चन्द र लामो समय मैदानबाट नेपाली क्रिकेटको सेवा गरेर पहिलो पटक पदाधिकारीका रुपमा प्रशासनमा प्रवेश गरेका सचिव पारस खड्का फरक खेमाको अनुहार बनिरहेका छन् ।

अध्यक्ष चन्दको प्रत्यक्ष संलग्नतामा सुदूरपश्चिम र लुम्बिनी प्रदेश क्रिकेट संघमा विवादको बिउ रोपिइसकेको छ । सुदूरपश्चिममा अध्यक्षविरुद्ध कार्यसमितिका सबैले सामूहिक राजीनामा क्यानलाई बुझाए । सचिव पारस खड्काले बैठकभित्र त्यसकाविरुद्धमा स्ट्याण्ड लिएपछि चन्द पछाडि हटे । आफ्नै प्रदेशको विवादलाई अध्यक्ष चन्दले रणनीतिक रूपमै मिलाएजसरी गरेर तत्कालका लागि थाँती राखेका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द(बायाँ) र सचिव पारस खड्का । 

अब लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय गुरुङविरुद्ध अविश्वासको प्रस्ताब केन्द्रिय अध्यक्ष चन्दसमक्ष दर्ता भएको छ । अध्यक्ष चन्दले लुम्बिनीका अध्यक्ष गुरुङलाई निलम्बन गरेर शनिबारका लागि विशेष साधारणसभा बोलाएका थिए। तर  खेलकुद परिषदले पत्र काटेपछि साधारणसभा तत्कालका लागि रोकिएको छ । 

गुरुङलाई निलम्बन तथा साधारणसभा बोलाउने निर्णय क्यानको कार्यसमितिले नभई अध्यक्षले मात्र गरेको आरोप छ । 

निक्कै लामो इतिहासले मलजल गर्दै नेपालको खेलकुदलाई यो दिनमा ल्याइपुर्याएको हो । 

अध्यक्षले यस्ता निर्णय गर्दा देखाएको प्रदेश क्रिकेट संघ विनियमावली आफैमा विवादास्पद छ । साधारणसभाले पास गरेको विनियमावली कहीँ कतै अस्तित्वमा छैन । नयाँ विनियमावली बनाएर त्यसको आधारमा अध्यक्षले निर्णय गरिरहेका छन् । जसको क्यानभित्र सचिव खड्काले चर्को विरोध गर्दै आएका छन् ।

एक प्रशंगमा खड्काले ‘मैले २० वर्ष क्रिकेट खेलेँ । निर्वाचित भएपछि पनि १७ महिना मैले क्रिकेटमात्र गरेँ । तपाईंहरुले राजनीति धेरै गर्नुभयो । अब मैले पनि क्रिकेटमा राजनीति गर्नुपर्ने भन्न खोज्नुभएको हो ? हो भने अब पारस खड्काले पनि राजनीति गर्छ’ भनेको विषयलाई क्रिकेट परिवारभित्र अचेल निक्कै अर्थपूर्ण तरिकाले व्याख्या गरिन थालेको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ ।

लुम्बिनीका अध्यक्ष गुरुङले अध्यक्ष चन्दले नेपाली क्रिकेट एकलौटी गर्न खोजेको आरोप लगाउँदै त्यसको विरुद्धमा आवश्यक परे अदालतसम्म जाने चेतावनी दिइसकेका छन् । अध्यक्ष चन्दमात्र नभई समग्रमा क्यानको सञ्चालन प्रक्रियामाथि नै प्रश्न उठाउँदै उनले अदालतमा क्यान कार्यसमितिका सबैलाई तान्ने संकेत दिएका छन् ।  

यो नेपाली खेलकुदलाई लागेको एउटा यस्तो दीर्घरोग हो, जसको तत्काल उपचार पनि देखिन्न । 

नेपाली खेलकुद भित्रका दुई ठूला र प्रभावशाली खेल फुटबल र क्रिकेट मैदानबाट अदालत सर्दा यिनका अभिभावकीय निकायको हालत झन टिठलाग्दो छ । परिषदलाई कानुनका विभिन्न छिद्रको प्रयोग गर्दै प्रशासनिक डन्डा चलाउन खुबै रमाइलो लाग्छ । अनि एनओसीलाई अन्तर्राष्ट्रिय मान्यताको धाक लगाएर सत्तामा अकण्टक राज गर्नेमा मात्र विश्वास छ ।

नेपाली खेलकुदको यो वर्तमान अचानक चट्याङ परेजसरी आएको होइन । निक्कै लामो इतिहासले मलजल गर्दै नेपालको खेलकुदलाई यो दिनमा ल्याइपुर्याएको हो । अर्थात लगातारका विवाद, मुद्धा-मामिला, भ्रष्टाचार, बेथिति, अनियमितता, अनुशासन हिनता नेपाली खेलकुदको पुरानै नियति हो ।

नेपाल ओलम्पिक कमिटीको भवन । 

यो नेपाली खेलकुदलाई लागेको एउटा यस्तो दीर्घरोग हो, जसको तत्काल उपचार पनि देखिन्न । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय संघहरुलगायतका उपचार गर्नुपर्ने खेलकुदका उच्च निकायहरु आफै बाँदरजसरी घाउ कोट्याउन मस्त छन् । कानुनका सबै सिङ प्रयोग गरेर विवादलाई अकण्टक लम्ब्याएर आफ्ना स्वार्थको डम्फु बजाउन सबै सरोकारवाला निकाय खप्पिस भएको अवस्थामा दीर्घरोगको उपचार के त ?

खेलकुदका उद्देश्यबाट एक इन्ची पनि दाया बाया गर्न नमिल्ने कानूनी तथा नीतिगत व्यवस्था गर्न सकियो भने मात्र स्वार्थीहरूको पञ्जाबाट नेपाली खेलकुदलाई मुक्त गर्न सकिन्छ ।

उत्तर सजिलो छ ।

खेलकुद प्रशासनभित्रका नियम-कानून र नीतिहरुमा धेरै ‘ग्रे जोन’ छन् । कानूनमा ‘ब्ल्याक एण्ड ह्वाइट’ व्यवस्था छैनन् । जसका कारण स्वार्थ समूह सधै कानूनका ती छिद्र प्रयोग गर्दै राष्ट्रिय गौरवका कथा लेख्नुपर्ने, करोडौं युवाहरुको भविश्य निर्धारण गर्नुपर्ने, देशको पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान गर्नुपर्ने खेलकुदलाई आफ्ना स्वार्थअनुकुल मात्र प्रयोग गर्न सफल भइरहेको छ । खेलकुदका उद्देश्यबाट एक इन्ची पनि दाया बाया गर्न नमिल्ने कानूनी तथा नीतिगत व्यवस्था गर्न सकियो भने मात्र स्वार्थीहरूको पञ्जाबाट नेपाली खेलकुदलाई मुक्त गर्न सकिन्छ ।