काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशलाई बजेट परेन भन्नु गलत भएको बताएका छन् ।
उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गरेको बजेट भाषणमा मुख्य केही योजनालाई मात्र समेटिएको र गण्डकीका लागि पर्याप्त मात्रामा बजेट विनियोजन भएको बताएका हुन् ।
नेपाल खेलकुद पत्रकार पञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले पोखरा क्रिकेट मैदान निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन हुने र ति बाहेक राखेपले रातो किताबमा सात वटै प्रदेशका खेल पुर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको सुनाए ।
आर्थिक वर्ष २०८२÷०८३ मा खेलकुदको बजेट ६ अर्ब ८ करोडको छ । यो बजेट खेलकुदमा हालसम्मकै उच्च हो । गत वर्ष ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो ।
‘नेपाल सरकारले आफ्नो बजेट पेश गरेको छ । नेपाली खेलकुद क्षेत्रले इतिहासकै बढि बजेट पाएको छ । यो नेपाली खेलकुदका लागि उत्साहजनक विषय हो । गण्डकी प्रदेशलाई शुन्य भन्ने गलत हो। बजेटमा हाइलाइट्स राख्ने गरिन्छ सबै कार्यक्रम पेश गर्न सम्भव छैन’ उनले भने, त्यस कारण सदस्यसचिवको हिसाबले परिषदको बजेटमा गण्डकीका पुर्वाधार परेका छन् भन्न चाहान्छु ।’
उनले सन् २०२७ मा महिला यु१९ विश्वकप क्रिकेट प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रुपमा आयोजना गर्दैछ । नेपालमा हुने खेलका लागि पोखराको क्रिकेट मैदानको स्तरोन्नतीको काम चलिरहेको र सोही कामका लागि तेब्बर बजेट विनियोजन हुने सुनाएका हुन् ।
यसैगरी उनले फुटबल मैदानका लागि हाइमास्ट फ्लड लाइटका लागि नेपाल उड्ययन प्राधिकरणसँग बारम्बार छलफल गरे पनि स्विकृत नपाएको समेत सुनाउँदै त्यसका लागि दोस्रो विकल्पमा आगामी दिनमा जाने सुनाए । यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका लागि रंगशालाभित्रको एक सभाहल प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मञ्चलाई हल प्रदान गर्नका लागि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पहल गरेका थिए ।