विराजभक्त श्रेष्ठ

नेपाली खेलकुदको स्तर चरणबद्ध रूपमा खस्किएको होः मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकै दिनमा नभएर चरणवद्ध रूपमा नेपाली खेलकुदको स्तर खस्किएको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘ हामी सबैलाईलाई थाहा छ पछिल्लो समय नेपाली खेलकुदको स्तर निकै खस्किएको छ । एकै पटक नभइ चरणबद्ध रूपमा यो स्थिती आएको हो,’ मन्त्री श्रेष्ठले भने ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ‘देवेन्द्र’ ले नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको बताएका छन् ।

‘नेपालीको खेलकुदमा आउने बजेट धेरै न्युन र अपर्याप्त छ । हामीले चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन,’मन्त्री श्रेष्ठले भने ।

देशभित्र राष्ट्रिय एकतामा कमि आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको मन्त्री श्रेष्ठले प्रष्ट्याएका छन् । उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताएका छन् । 

‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै छन् । तर, अधिकारको सबालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको छ,’मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल संघबीचकाे सम्बन्ध त्रिकाेणात्मक आकारमा रहेकाले नेपाली खेलकदको विकास राम्रोसँग हुन नसकेको औंल्याएका छन् ।

खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ । नेपालका खेल संघहरू हराइरहेको आभास आफूलाई भइरहेको मन्त्री श्रेष्ठ बताउँछन् । संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्र खेलकुदको विकास सम्भव हुने बताएका छन् । आइओसीको चार्टरभित्र रहे पनि नेपाल ओलम्पिक कमिटीले नेपालको कानुनभित्र पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले भनाइ थियो ।