शारीरिक सुगठन प्रतियोगिता

ललितले माल्दिभ्समा दुई प्रतियोगिता खेल्ने

काठमाडौं । ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । प्रतियोगिता असार २० देखि २४ को बीचमा हुनेछन् । 

ललितले १३औं दक्षिण एसियाली शारीरिक सुगठन तथा प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भाग लिन लागेका हुन् । 

आठौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताका ओभरल च्याम्पियन ललितले दुवै प्रतियोगितामा पुरुष ७५ केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

आमन्त्रण प्रतियोगितामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ३ हजार, २ हजार, १ हजार र ५ सय अमेरिकी डलर  प्राप्त गर्ने छन् ।

ललितसहितको ३ सदस्यीय टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दैछ । अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास तथा निर्णायकमा दिनेश श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठल गायतले मंगलबार बिदाइ गरे ।