सुमोन रेजा

जागिर छाडेर बन्द प्रशिक्षणमा सुमोन रेजा

ढाका । बंगलादेशी फरवार्ड सुमोन रेजा एयर फोर्सको जागिर छाडेर आइतबार रातिदेखि बन्द प्रशिक्षणमा रहेको टिमसँग जोडिएका छन् । बंगलादेशले सेप्टेम्बर २२ मा कम्बोडिया र २७ मा नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

त्यसकै लागि बंगलादेशी राष्ट्रिय टिमले आइतबारदेखि तयारी सुरु गरेको थियो । सुमोन दुई मैत्रीपूर्ण खेलका लागि २७ जनाको प्रारम्भिक टिममा परेका थिए । तर, बंगलादेश एयर फोर्सले उनलाई फुकुवा गरेको थिएन ।

‘मेरा लागि राष्ट्रिय फुटबल टिमको जिम्मेवारी ठूलो हो । तर, सर्भिस टिमको असहमतिले गर्दा मैले राष्ट्रिय टिमलाई समय दिन सकिँन । त्यसैले मेलै बंगलादेशी एयर फोर्स फुटबल टिमका प्रशिक्षकलाई राजीनामा पत्र बुझाएँ,’ रेजाले भने ।

सुमोनको राजीनामा प्रक्रियामा करिब ३–४ घण्टा लागेको बंगलादेशी सञ्चारमाध्यमहरुले बताएका छन् । रेजा २०१४ मा एयर फोर्सको टिममा आवद्ध भएर बंगलादेश प्रियिमर लिग खेलिरहेका थिए । उनी गत सिजन मात्रै बसुन्धरा किङ्ग्समा आवद्ध भएका थिए ।