महिला युरोपियन च्याम्पियनसिप २०२२

सेमिफाइननल समिकरण पूरा

लन्डन । साविकको विजेता नेदरल्यान्ड्समाथि १० को जितसहित फ्रान्सले आइतबार महिला युरोपियन च्याम्पियनसिप २०२२ को सेमिफाइनमा स्थान बनाएको छ ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । यसअघि घरेलु टोली इङलयन्ड, जर्मनी र स्विडेनले पनि सेमिफाइनलको टिकट काटिसकेका थिए । 

प्रतियोगितामा नेदरल्यान्ड्सको आठ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । यसपटक समूह चरणका तीन खेलमा अपराजित रहेको नेदरल्यान्ड्सले पाँच वर्ष अघि उपाधि जित्ने क्रममा समूह चरणमा एक खेलबाहेक अन्य खेलमा अपराजित रहेको थियो । 

नेदरल्यान्ड्सकी गोलकिपर डाप्नी भान डोमसेलारले फ्रान्सको धेरै प्रहार विफल पार्दै टोलीको अन्तिम चार यात्राको सम्भावना कायम राखे पनि त्यो पर्याप्त भएन ।

निर्धारित समयको खेल गोलसहित बरारबीमा सकिएपछि खेल अतिरिक्त सयममा धकेलिएको थियो ।
एक सय दुई मिनेटमा इभ प्रिसिस्टको पेनाल्टी गोल फ्रान्सको सेमिफाइनल यात्राका लागि पर्याप्त बन्यो । भिडियो सहायक रेफ्री (भिएआर) चेक पछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।

यसअघि सन् २००९ मा भने नेदरल्यान्ड्ले क्वार्टरफाइनलमा फ्रान्सलाई निराश पारेको थियो ।

फ्रान्सले फाइनल प्रवेशका लागि बुधबार जर्मनीको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा मंगलबार इङल्यान्ड र स्विडेन आमने सामने हुनेछन् ।

फाइनल खेल जुलाई ३१ मा वेम्बलीमा हुनेछ ।