विश्‍ज नम्बर बेल्जियम ग्रिससँग बराबरीमा रोकियो

काठमाडौं, (खेलाडी)- विश्‍व नम्बर एक बेल्जियम गएराति मैत्रीपूर्ण खेलमा ग्रीससँग बराबरीमा रोकिएको छ । 

आसन्‍न युरोपियन च्याम्पियनसिप (युरो २०२०) को तयारीमा रहेको बेल्जियमले थोर्गान हाजार्डको गोलबाट २०औं मिनेटमा अग्रता लिएको थियो । ग्रिसका जर्जस तेबालसले ६६औं मिनेटमा बराबरी गोल फर्काए । 

प्रतियोगिताको तयारीमा बेल्जियमले अब सोमबार क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि १२ जुनमा रुसविरुद्धको खेलबाट युरो २०२० को सुरुआत गर्नेछ । समूह ‘बी’ मा बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुससँग प्रतिस्पर्धा गर्नेछ। 

त्यस्तै मारियो गाभ्रानोभिकको ह्याट्रिकप्रेरित स्विट्जरल्यान्डले गएराति लिचेस्टिनमाथि ७-० को फराकिलो जित निकालेको छ । युरो २०२० को तयारीमा रहेको स्विट्जरल्यान्डका लागि गाभ्रानोभिकवाहेक क्रिस्टियन फासनाचटले दुई तथा इडिमिल्सन फर्नान्डेजले एक गोल गरे । अर्को नोच फ्रिकले एक आत्मघाति गोल उपहार दिए । 

स्विट्जरल्यान्डले अब १२ जुनमा वेल्सविरुद्धको खेलबाट युरो २०२०को सुरुआत गर्नेछ । समूह ‘ए’ मा रहेको स्विट्जरल्यान्डले टर्की, वेल्स र इटालीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार राती भएका अन्य खेलमा फ्रन्सले वेल्समाथि ३_० को जित हात पार्दा युक्रेनले नर्दन आयरल्यान्डलाई १-०, इङल्यान्डले अस्ट्रियालाई १-०, टर्कीले माल्डोभालाई २-० तथा आयरल्यान्डले एन्डोरालाई ४-१ ले पराजित गर्‍यो ।

त्यस्तै जर्मनी र डेनमार्कले १–१ को बराबरी नतिजा निकाले ।