एन्फा चुनाव

एन्फा निर्वाचनमा मतदाता को को ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय कार्यसमितिको अर्को महिना हुने निर्वाचनले अहिले नेपाली खेलकुदलाई मज्जासँग तताएको छ ।

स्थानीय निर्वाचनको पारो सेलाउन नपाउँदै सुरु भएको एन्फा निर्वाचनको ज्वरो दिनानुदिन बढ्ने क्रममा अचेल आकांक्षीलाई सातदोबाटोस्थित नेपाली फुटबलको मुख्यालयमा उम्मेदवारी दर्ता गराउने चटारो छ ।

देशकै सबभन्दा लोकप्रिय खेल हुनुका साथै नेपाली खेलकुदमा सर्वाधिक प्रभावशाली संस्था भएकाले एन्फाको निर्वाचन सर्वत्र चासोको विषय बन्नु स्वभाविक हो । नेपाली फुटबलको सर्वोच्च निकाय भएकाले पनि यसको कार्यसमितिमा आउन आकांक्षीबीच चर्को प्रतिस्पर्धा छ ।

आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते हुने निर्वाचनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जसमा एक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आआफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

दुवै प्यालबाट गरि बुधबारसम्ममा अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३२ तथा दुई महिला सदस्य पदका लागि चार जनाको उम्मेदवारी परिसकेको छ । साथै अन्य थुप्रै फुटबल पदाधिकारीहरुले पनि विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

निर्वाचन समितिले तोकेको समयसीमाअनुसार भोलि जेठ १२ गते बिहीबारसम्ममा आकांक्षीले उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ ।

२१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८७ संस्थाले मतदान गर्नेछन् ।

जसअनुसार ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन् ।

मताधिकारप्राप्त ४५ मध्ये ४३ जिल्लामात्र निर्वाचनमा भाग लिनका लागि योग्य छन् । जिल्ला संघको निर्वाचन विवादका कारण सिन्धुली र भक्तपुर जिल्ला फुटबल संघले आसन्न केन्द्रिय निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

एन्फाको निर्वाचन समितिमा सबै मताधिकारप्राप्त संस्थाले आआफ्ना प्रतिनिधि चयन गरेर पठाइसकेका छन् ।

जसअनुसार ‘ए’ डिभिजन क्लबमध्येबाट मछिन्द्र क्लबका अनिल श्रेष्ठ, मनाङ मर्स्याङदी क्लबका सुशील गुरुङ, नेपाल आर्मी फुटबल क्लबबाट उज्जवल केसी, एपिएफ फुटबल क्लबका अर्जुन खत्री, नेपाल पुलिस क्लबका विमलाकुमारी कठायत, थ्री स्टार क्लबका सञ्जिव सिल्पकार, संकटा क्लबका रमेशध्वज बस्नेत, ब्रिगेड ब्वाइज क्लबका राजु हायजु, जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका दीपक थापा, एनआरटीका सुन्दरनरसिंह जोशी, च्यासल युथ क्लबका रमेश ब्यन्जनकार, सातदोबाटो युथ क्लबका कपिल राना मगर र हिमालयन शेर्पा क्लबका वाङ्दो दोर्जे शेर्पाले मताधिकार प्राप्त गरेका छन् ।

यसैगरी ‘बी’ डिभिजनका १४ मध्ये मताधिकार प्राप्त ११ क्लबबाट नयाँ बस्ती युथ क्लबका रामकुमार तामाङ, बाँसबारी क्लबका प्रेम थापा, श्री कुमारी क्लबका रामकुमार बस्नेत, सरस्वती क्लबका उत्तमराज भण्डारी, खुमलटार युथ क्लबका मणिराज बिष्ट, मध्यपुर युथ एसोसिएसनका अष्टकुमार कबे, चर्च ब्वाइज युनाइटेडका टंकलाल राई, टुसाल युथ क्लबका विजय लामा, ब्याइज युनियन क्लबका श्रवणकुमार श्रेष्ठ, आरसिटीका कुमार राजभण्डारी र श्री भगवती क्लब टोखाबाट मनिष जोशी मतदान प्रतिनिधि तोकिएका छन् ।

त्यस्तै ‘सी’ डिभिजनका १४ मध्ये ९ क्लबलाई प्रतिनिधित्व गर्दै प्लानिङ ब्याइज युनाइटेडबाट डा. देउमान लिम्बु, खालिबारी क्लबबाट सञ्जिव पाण्डे, वीरगञ्ज युथ एकेडेमीबाट रितुकुमार शाक्य, स्वयम्भु क्लबबाट श्याम लामा, महावीर क्लबबाट दीवाकर घले, मनोहरा युनाइटेडबाट सुशान्त ओली, पुल्चोक स्पोर्टस क्लबबाट मंगलमान महर्जन, आरसी ३२ फुटबल एकेडेमीबाट सुनील देवकोटा, समाज कल्याण खेलकुद केन्द्रबाट सरोज महर्जनले मताधिकार प्राप्त गरेका छन् ।

फुटबल खेलाडी संघबाट विक्रम लामा, प्रशिक्षक संघबाट राजेन्द्र तामाङ, रेफ्री संघबाट बुद्धिबहादुर गुरुङ तथा महिला संघबाट विना श्रेष्ठले मताधिकार हासिल गरेका छन् । यसैगरी राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबमध्ये रौतहटको मनकामना युवा क्लबबाट नेपाल कार्कीले मताधिकार पाउँदा लमजुङको त्रिवेणी युवा क्लबबाट विनोद गुरुङ, बाँकेको धम्बोजी स्पोर्टस क्लबबाट देवेन्द्र खड्का र कैलालीको स्टार सिटी युवा क्लबबाट नरेन्द्र शाहले मताधिकार पाएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी मताधिकार प्राप्त ४३ जिल्ला संघमध्ये बाग्लुङबाट जयराज भण्डारी, बाँकेबाट भोजराज शाही, बाराबाट रामचन्द्र लामा, बर्दियाबाट अजित राजभण्डारी, भोजपुरबाट प्रविणकुमार सुवाल, चितवनबाट श्रीकृष्ण कार्की, दाङबाट सञ्जाद धिताल, धादिङबाट दीपक खतिवडा, धनकुटाबाट मणि चेम्जोङ र धनुषाबाट रामकेवल मुखिया मतदान प्रतिनिधि तोकिएका छन् ।

दोलखाबाट कौरव पाण्डे, इलामबाट विप्लव कोइराला, झापाबाट भागिरथ आले, जुम्लाबाट अजय बुढ थापा, कैलालीबाट अनिल मल्ल, कञ्चनपुरबाट गणेशबहादुर चन्द, काठमाडौंबाट विराटजंग शाही, काभ्रेबाट विकासनारायण श्रेष्ठ, ललितपुरबाट पुरुषोत्तम थापा र लमजुङबाट लोकेन्द्र गुरुङले मताधिकार प्राप्त गरेका छन् ।

त्यस्तै मताधिकार प्राप्त अन्य प्रतिनिधिमा महोत्तरीका प्रमोदकुमार मानन्धर, मकवानपुरका टिकाराम लामा, मोरङका सञ्जिव बुढाथोकी, नवलपरासीका धनप्रसाद गुरुङ, नुवाकोटका देवनारायण चित्रकार, पाल्पाका प्रज्वलप्रसाद उदय, पाँचथरका सुरेश शाह, पर्साका अनिलकुमार कलवार, रौतहटका भगवानबहादुर दर्लामी र रुपन्देहीका लोकबहादुर पुन छन् ।

सप्तरीबाट रमेशकुमार श्रेष्ठ, सर्लाहीबाट ठाकुरबहादुर सलिम, सिन्धुपाल्चोकबाट अमृतमान श्रेष्ठ, सिराहाबाट प्रविणकुमार यादव, सुनसरीबाट नवीन राई, सुर्खेतबाट रविन्द्र चन्द, स्याङ्जाबाट मुक्तबहादुर राना, तनहुबाट सत्य मल्ल, ताप्लेजुङबाट खगेनसिंह हाङ्गाम, उदयपुरबाट रजन कार्की, मनाङबाट यज्ञ घले, खोटाङबाट ध्रुवविक्रम राई र नवलपुरबाट सेनबहादुर पुनले मताधिकार हासिल गरेका छन् ।