इटालियन सिरी ए

मिलान शीर्ष स्थानमा

मिलान । लाजियोलाई २-१ ले पराजित गर्दै एसी मिलान आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ । 

शनिबार साबिकको विजेता इन्टर मिलान एएस रोमालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो । जहाँ इन्टरले एक अंकको अग्रता लिएको थियो ।

लाजियोमाथिको महत्वपूर्ण जितपछि मिलानले ३४ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा पुनरागमन गरेको हो  । जुन दोस्रो स्थानको इन्टर भन्दा दुई अंक बढी हो । मिलान भन्दा इन्टरले एक खेल कम खेलेको छ । 

नेपोली ६७ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको युभेन्टसको ६३ अंक छ । ५६ अंकसहित लाजियो सातौं स्थानमा छ ।

चौथो मिनेटमा सिरो इमोबाइलको गोलमा लाजियोले अग्रता लिएको थियो । ५०औं मिनेटमा ओलिभर जिरौउडले मिलानलाई खेलमा फर्काएका थिए । जारी सिजन सिरी ‘’ए मा जिरौउडको यो नवौं गोल हो । 

इन्जुरी समयको दोस्रो मिनेटमा टोनालीले गरेको गोलमा मिलानले जित पक्का गरेको थियो ।