पेरु कोपा अमेरिकाको सेमिफाइनलमा

रियो दी जेनेरियो, (खेलाडी)- पाराग्वेविरुद्धको कठिन खेलमा शनिबार पेनाल्टी सुटआउटसम्म संघर्ष गर्दै जित हासिल गरेको पेरु ब्राजिलमा जारी दक्षिण अमेरिकी फुटबलको सबभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाको सेमिफाइनल पुग्‍ने पहिलो टोली बनेको छ । 

निर्धारित समय ३-३ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पेरुले ४-३ को नतिजा हासिल गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । 

दुवै टोलीले १० जनामा सिमित भएर अन्त्य गरेको खेलको सुरुआतमै गुस्ताभो गोमेजको गोलमार्फत पाराग्वेले अग्रता लिएको थियो । गोमेजले ११औं मिनेटमा पाराग्वेलाई अग्रता दिलाए पनि पहिलो हाफमै पेरुले जियानलुका लापाडुलाको दुई गोलमा २-१ को अग्रता लियो । २१औं मिनेटमा पेरुका लागि बराबरी गोल गरेका लापाडुलाले मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा दोस्रो व्यक्तिगत गोल गरेका थिए ।

पहिलो हाफकै इन्जुरी समयमा पाराग्वेका गोलकर्ता गोमेज दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि टोली १० खेलाडीमा सिमित भयो । तथापि जुनियर अलोन्सोले पाराग्वेका लागि ५४औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । 

अन्तिम १० मिनेटमा दुवै टोलीका तर्फबाट थप एक/एक गोल भए । पेरुका लागि योशिमर युटुनले ८०औं मिनेटमा गोल गर्दै अग्रता दिलाए भने अन्तिम मिनेटमा ग्याब्रिअल एमालोसले पाराग्वेका लागि बराबरी गोल गरे । यसबीचमा ८५औं मिनेटमा आन्द्रे क्यारिल्लोले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि पेरु पनि १० खेलाडीमा सिमित भएको थियो । 

निर्धारित समय बराबरीमा टुंगिएपछि निर्णयार्थ टाई ब्रेकरमा पनि पाँच पेनाल्टीसम्मको प्रतिस्पर्धा ३-३ को बराबरीमा टुंगिएको थियो । त्यसपछि सडनडेथको पहिलो पेनाल्टीमा खेलले निर्णय पाएको थियो । 

पहिलो पाँच पेनाल्टीको प्रतिस्पर्धामा पेरुका तर्फबाट लापाडुला, युटुन र रेनाटो तापियाका प्रहार गोलमा परिणत भएका थिए भने सान्टियागो ओर्मेनो र क्रिस्टियन कुइभाका प्रहार खेर गएका थिए । पाराग्वेका तर्फबाट एन्जेल रोमेरो, जुनियर अलोन्सो र रोबर्ट पिरिसले पेनाल्टीलाई गोलमा परिणत गर्दा हेक्टर मार्टिनेज र सामुका प्रहार असफल भए । 

सडनडेथको पहिलो प्रहारमा पेरुका मिगुअल ट्राउकोले गोल गर्दा पाराग्वेका अल्बर्टो इस्पिनोलाको प्रहार खेर गएको थियो । मंगलबार विहान रियो दी जेनेरियोमा हुने सेमिफाइनलमा पेरुले साविक विजेता ब्राजिल र चिलीमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल र चिलीबीचको क्‍वार्टरफाइनल शनिबार विहानै केहीबेरमा हुँदैछ ।