काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबले लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा श्री कुमारी च्यासल युवा क्लबविरुद्ध २-१ ले पराजित भएको हो ।
च्यासलले तेस्रो खेलमा आएर बल्ल जितको स्वाद चाखेको हो । यसअघि च्यासलले उद्घाटन खेलमा वीरगंज युनाइटेडसँग गोलरहित बराबरी खेल्दा प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ४-० को फराकिलो हार बेहोरेको थियो । जितसँगै च्यासल चार अंकसहित तालिकाको छैटौं स्थानमा उक्लियो ।
श्री कुमारीले यसअघि ब्रिगेड ब्वाइजसँग २-१ र वीरगंज युनाइटेडसँग २-० ले पराजित भएको थियो । श्री कुमारी तालिकाको पुछारमा झरेको छ ।
बुधबार च्यासललाई स्पष्ट तीन अंक दिलाउन अनिल बोम्जन लामा र अश्विन घोरासैनीले गोल गरे । श्री कुमारीका लागि यमन महर्जनले गरेको गोल सान्त्वना बन्न पुग्यो ।
पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । खेलको ५५औं मिनेटमा अनिलले च्यासलका लागि लिगकै पहिलो गोल गरे । अनिलले अनिल थारुको थ्रु बललाई सदुपयोग गरेका थिए । अनिलको लोअर प्रहारले पहिलो बारको जाली चुमेको थियो । ७०औं मिनेटमा कप्तान अश्विन घोरासैनीले कमल थिङको कर्नर बलको फाइदा उठाए । कमलले राइट साइडबाट दिएको कर्नर क्रसमा अश्विनले हेडमार्फत च्यासलको अग्रतालाई दोब्बर बनाए ।
इन्जुरी समयमा श्री कुमारीका लागि यमनले एक गोल फर्काए ।