चैत्र १८, २०८१ सोमबार | १७:५४:४३
लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती
शनिबारको दिन नेपाली फुटबल

राष्ट्रिय टोलीको डेब्यूबाट स्वप्नमग्न सुमन

काठमाडौं । एक वर्षअघिको कुरा हो । सशस्त्र प्रहरी बलको एपिएफ क्लबका रक्षक सुमन श्रेष्ठले आफ्ना आदर्श खेलाडी अनन्त तामाङबाट जर्सी उपहार पाएका थिए ।

१४औं जितपुर सिमरा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा एपिएफले अनन्तको कप्तानीमा रहेको फ्रेन्ड्स क्लबलाई २-० ले हराएको थियो । आफ्नै आदर्श खेलाडीको टिमलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गर्नेबित्तिकै सुमनले अनन्तसँग जर्सी मागेका थिए । पसिनाले निथ्रुक्क भिजेको नीलो जर्सी फुकालेर अनन्तले अटोग्राफसहित सुमनलाई उपहार दिए ।

‘अनन्त (तामाङ) दाइ मेरो आइडल हुनुहुन्छ । खेलमा उहाँको इन्टिलिजेन्सले मलाई एकदमै प्रभावित गरेको छ,’ गत सातामात्र राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका सुमनले एक वर्षअघि सिमरामा एकाबिहानै भएको त्यो संस्मरण सुनाए ।

 पछिल्लो दुई साता सुमनका लागि अझ खास रह्यो । फुटबलको सुरुआती वर्षमा कल्पेका क्षण सुमनले यिनै दुई साता मैदानमा आफैंले आत्मसात गर्ने मौका पाए ।

मोफसलको फुटबल इतिहासमा यो आफैंमा स्मरणीयमध्ये एउटा खेल हो । बिहीबार राति सिमरा रंगशालामा हावा तीव्र गतिमा चलेका कारण खेल अप्रत्यासित रूपमा ढिला भएको थियो । चिन्ताजनक परिस्थितिबीच आयोजकले शुक्रबार बिहानलाई खेल स्थगित गर्नुपरेको थियो । सुमनका लागि त्यो झन विशेष रह्यो । जहाँ उनले दुई दिन लगाएर आफ्नै आइडललाई हराएका थिए अनि खेल सकिएलगत्तै जर्सी उपहार पाएका थिए ।

अन्तत तामाङले सुमनलाई उपहार दिएको जर्सी । 

सिमराको त्यो मीठो क्षणको ताजगी कायमै रहँदा ठिक एक वर्षपछि सुमनले अनन्तको जोडी बनेर खेल्ने सौभाग्य पाएका छन् । उसो त पछिल्लो दुई साता सुमनका लागि अझ खास रह्यो । फुटबलको सुरुआती वर्षमा कल्पेका क्षण सुमनले यिनै दुई साता मैदानमा आफैंले आत्मसात गर्ने मौका पाए ।

चन्द्रसूर्य अंकित नीलो जर्सीमा अनन्तसँग ‘पियर अप’ भएका सुमनले गत शुक्रबार मात्र अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’को मौका पाएका हुन् । लगत्तै चार दिनपछि सुमनले लगातार दोस्रो खेलमा राष्ट्रिय टोलीको जर्सी लगाएर देशको प्रतिनिधित्व गरे ।

नेपालले मार्च २५ मा घरेलु टोली मलेसियाविरुद्ध एएफसी एसिया कप छनोटको तेस्रो चरणको पहिलो खेल खेल्यो । यही खेलको ‘वार्मअप’स्वरुप नेपालले सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेको थियो ।

सिंगापुरविरुद्ध मैदानमा ६० मिनेट बिताएका सुमनले मलेसियाविरुद्ध पनि पहिलो रोजाइमै मौका पाए । यसपालि भने सुमनले पूरा ९० मिनेट खेले । 

राष्ट्रिय टोलीमा सुमनका लागि यो पहिलो अनुभव थियो । यसअघि उनी कहिल्यै टोलीमा पर्नु त के बन्द प्रशिक्षणमा समेत बोलाइएका थिएनन् । सौभाग्य ! सुमनले पहिलो अनुभवमै सिंगापुरविरुद्ध ‘डेब्यु’ अवसर पाए, त्यो पनि पहिलो रोजाइमा ।

सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलका दौरान नेपाली रक्षकद्धय अनन्त तामाङ (अगाडि) र सुमन श्रेष्ठ (पछाडि) डिफेन्डिङ गर्दै, तस्विर सौजन्यः एन्फा ।

‘म्याच डे’को दिन हामी ब्रेकफास्टपछि वाकमा गएका थियौं । त्यसपछि टिम मिटिङ भयो । कोचले पहिलो रोजाइ सुनाउनुभयो । लाइनअपमा आफूलाई पाउँदा सरप्राइज भएको थिएँ । मनमा छुट्टै आनन्द आउने रहेछ । यही दिनका लागि मैले यत्रो मिहिनेत गरेको रहेछु जस्तो लागेको थियो,’ सुमन नोस्टाल्जिक हुन्छन्, ‘छातीमा चन्द्रसूर्य अंकित झण्डा भएको जर्सी लगाउँदा भावुक भइँदो रहेछ । गर्व महसुस गरें ।’

सिंगापुरविरुद्ध मैदानमा ६० मिनेट बिताएका सुमनले मलेसियाविरुद्ध पनि पहिलो रोजाइमै मौका पाए । यसपालि भने सुमनले पूरा ९० मिनेट खेले । सिंगापुरविरुद्ध नेपालले ऐतिहासिक पहिलो जित हासिल गर्दा मलेसियासँग भने पराजय बेहोरेको थियो ।

काभ्रेको पनौती घर भएका सुमनले बनेपाको एसओएस हर्मन माइनर स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए । स्कुल पढ्दादेखि नै फुटबलमा उनको लगाव थियो । घरतिरको स्थानीय क्लब स्पोर्टिङ चौकोट अनि बनेपा ब्वाइज क्लबबाट फुटबल खेल्न थालेपछि उनले आफूलाई थप निखारे । यसबीच सुमनले राजधानीमा हुने यु-१४ फेस्टिभलमा जिल्ला अनि अन्तरविद्यालय कोकाकोला फुटबल कपमा स्कुलको प्रतिनिधित्व गरे । एसइइ उत्तीर्ण गरेपछि सुमन उच्च शिक्षाका लागि साँगास्थित नेपाल प्रहरी संगठनको कल्याणकारी कार्यक्रमअन्तर्गत स्थापित नेपाल पुलिस स्कुलमा भर्ना भए ।

ब्याच नम्बर २३४ (६) का सुमन तालिममा टप कमान्डर थिए । सिविरमा उनको काम करिब १०५ ‘कन्सटेबल’लाई कमान्ड गर्नु थियो ।

पुलिसमै हुँदा सुमन साथीको लहैलहैमा सनोज श्रेष्ठको नेतृत्वमा रहेको बिग्रेड ब्वाइज क्लबको यु-१८ टोलीमा आबद्ध भए । २०७४ को जेठमा सम्पन्न ललित स्मृति यु-१८ फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा सुमनले बिग्रेड ब्वाइजको प्रतिनिधित्व गरेका थिए ।

कोकाकोला कपमा एसओएस हर्मन माइनर स्कुल, तस्विर सौजन्यः सुमन श्रेष्ठ ।

अर्को वर्ष फागुनमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुमन ब्वाइज युनियनको जर्सीमा देखिए । लिग सकिएको दुई महिनामै सुमनको ‘प्लस टु’ पढाइ पनि सकियो । त्यसपछि कोरोना महामारीको लहर सुरु भयो । अनि पूरा देश लकडाउनमा गयो ।

लकडाउनका बेला सुमन स्थानीय बनेपा ब्वाइजलाई डिभिजन फुटबलमा चढाउने भनेर लागि परे । त्यतिबेला बनेपा ब्वाइजले गत महिना मात्र स्वर्गवास भएका हरिओम श्रेष्ठको नेतृत्वमा टोली तयार पारेको थियो । सुमनले अन्तिम समयमा बनेपाबाट ‘सी’ डिभिजन छनोट प्रतियोगिता भने खेलेनन् । लकडाउनपछि सुमन एपिएफ आइपुगेका हुन् । डिभिजन फुटबल क्लबसँग कुनै सम्झौता नभएका कारण सुमनले एपिएफकै सहयोगमा स्वयम्भू क्लबबाट ‘सी’ डिभिजन लिग खेले ।

‘सी’ डिभिजनपछि सुमन आधिकारिक रुपमा एपिएफमा भर्ती भए । सुमन ककनी तालिम केन्द्रमा एक वर्षसम्म बन्द सिविरमा रहे । ब्याच नम्बर २३४ (६) का सुमन तालिममा टप कमान्डर थिए । सिविरमा उनको काम करिब १०५ ‘कन्सटेबल’लाई कमान्ड गर्नु थियो ।

एपिएफको तालिमका क्रममा सुमन  श्रेष्ठ (अगाडि) । 

सिविरमा रहँदै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ चलिरहेको थियो । घाम झुल्किएपछि ककनीको डाँडाबाट सुमनले दशरथ रंगशालामा बलेको फ्लडलाइट हेरिरहन्थे । अनि आफ्नो भावनालाई नियन्त्रण गर्थे । छुट्टीका बेला आफ्नो टोलीको हौसला बढाउन रंगशाला नै धाउँथे ।

लिगमा अन्योलपूर्ण अवस्थामा पुगेपछि एपिएफका सबै खेलाडीलाई फुटबलभन्दा बाहिर अन्य सुरक्षाका काममा खटाइएको थियो । नेतृत्वले प्रतिक्रियास्वरुप खेलाडी सरुवा गर्दा सुमन सुर्खेत पुगेका थिए ।

‘क्याम्पमा रहँदा फुटबल एकदम धेरै मिस गरें । क्याम्प छोडौं भने मिहिनेत खेर जान्थ्यो । त्यसैले आफैले आफूलाई सम्हालें,’ सुमन ती पीडादायी दिन सम्झन्छन्, ‘मलाई टप कमान्डरको जिम्मा दिइएको थियो । क्याम्पमा हामीले धेरै मिहिनेत गर्यौं । दिइएका काम पूरा गर्नु हाम्रो कर्तव्य थियो ।’

त्यसपछिको लिग अर्थात् २०८० को जेठमा सम्पन्न लिगमा सुमनले शीर्ष डिभिजनको अनुभव लिए । तर, पर्याप्त समय खेल्न भने पाएनन् । ‘होम एन्ड अवे’ ढाँचामा खेलाइएको लिगमा सुमनले ४ खेलमा मात्र अवसर पाए । एपिएफको शीर्ष डिभिजन हैसियत अन्योलमा पुर्याएको त्यो लिगमा सुमनले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबविरुद्ध खेलको ७५औं मिनेटमा दीपेश धिमाललाई प्रतिस्थापन गर्दै ‘डेब्यु’ गरेका थिए ।

लिगबाट अंकका आधारमा एपिएफ र खुमलटार रेलिगेसनमा परेका छन् । तर थ्रीस्टारले अवैधानिक खेलाडी खेलाएको भन्दै एपिएफले दुई वर्षअघि हालेको उजुरीमाथि एन्फाले निर्णय गरिसकेको छैन । जसका कारण एपिएफ र थ्रीस्टारमध्ये कसले शीर्ष डिभिजनको हैसियत गुमाउने भन्ने टुंगो लागिसकेको छैन ।

एपिएफ क्लबका रक्षक सुमन श्रेष्ठ र उनकी आमा, तस्विर सौजन्यः सुमन श्रेष्ठ ।

‘एकदमै हतोत्साहित भएको थिएँ । सायद कोचले मलाई मौका दिएको भए हामीले अहिलेको अन्योलपूर्ण अवस्था सामना गर्नु नै पर्दैनथ्यो भन्ने मनमा अझै पनि लाग्छ । तर, मलाई प्रयोग नै गरिएन,’ सुमन भन्छन्, ‘अहिले राष्ट्रिय टोलीबाट दुई खेलमा १५० मिनेट खेलें । पूरा लिगमा यति पनि खेल्न पाइनँ ।’

लिगमा अन्योलपूर्ण अवस्थामा पुगेपछि एपिएफका सबै खेलाडीलाई फुटबलभन्दा बाहिर अन्य सुरक्षाका काममा खटाइएको थियो । नेतृत्वले प्रतिक्रियास्वरुप खेलाडी सरुवा गर्दा सुमन सुर्खेत पुगेका थिए ।

सुर्खेतमा आधा वर्ष बिताइरहँदा सुमनलाई निकै गाह्रो भएको थियो । कारण उनका सहकर्मी मंसिरमा सुरु भएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण खेल्ने क्रममा थिए ।

‘लिगमा मैले आफ्नो खेल देखाउने मौका नै पाइनँ । त्यसैले पनि मेरो लागि एनएसएल खेल्नु असम्भव थियो । साथीहरूले गणबाट फर्किएपछि एनएसएल खेले । टिभीमा एनएसएल हेरिरहँदा एकदमै चित्त दुखेको थियो,’ सुमन आफ्नो करियरको क्षण सुनाउँछन् ।

नवौं राष्ट्रिय खेलकुदका दौरान मैदान प्रवेश गर्दै एपिएफका सुमन श्रेष्ठ, तस्विर सौजन्यः सुमन श्रेष्ठ ।

सुर्खेतमा रहँदा सुमनले गणको प्रतिनिधित्व गर्दै केही फुटबल प्रतियोगिताहरू खेले । दुईवटा प्रतियोगितामा एपिएफले जित पनि हासिल गर्यो । गणबाट फर्किएपछि सुमनले मोफसलका विभिन्न प्रतियोगितामा एपिएफको प्रतिनिधित्व गर्दै आएका छन् । सबैमा उनले बेन्चमै रहेर सुरुआत गरे । यतिबेलासम्म सुमनले प्रशिक्षकको विश्वास जित्न सकेका थिएनन् ।

गत वर्षको फागुनमा सम्पन्न छैटौं झापा गोल्डकप उनका लागि फुटबल करियरको टर्निङ प्वाइन्ट बन्न पुग्यो । क्वाटरफाइनलमा पहिलो रोजाइका दीपेश (धिमाल)ले रातो कार्ड सामना गरेपछि एपिएफका प्रशिक्षक सुमन श्रेष्ठसँग अब सेमिफाइनलका लागि सुमनबाहेक अरू विकल्प रहेन । त्यसैले आर्मीविरुद्धको सेमिफाइनलमा सुमनले पहिलो पटक सुरुआती रोजाइमा मौका पाएका थिए ।

खासमा सुमन सेटपिस विशेषज्ञ पनि हुन्, पेनाल्टीमा त उनको दखल झन राम्रो छ । उनले एपिएफबाट अहिलेसम्म १५ वटा पेनाल्टी प्रहार गर्दा सबैमा सफल भएका छन् ।

आर्मीविरुद्ध सुमनको प्रदर्शन तारिफयोग्य रह्यो । आर्मीलाई हराएको एपिएफ फाइनलमा चर्च ब्वाइजसँग पराजित भयो । झापा गोल्डकपयता सुमनले फर्केर हेर्नुपरेको छैन । त्यसपछि उनी लगातार पहिलो रोजाइमा पर्दै आएका छन् । उनी पहिलो पटक एनएसएल पनि खेल्दैछन् । आसन्न एनएसएलमा उनी बुटवल लुम्बिनी एफसीको जर्सीमा देखिनेछन् ।

झापाअघि एपिएफले हेटौंडामा भएको छैटौं मकवानपुर गोल्डकपको उपाधि जितेको थियो । फाइनलमा न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दा सुमनले पनि पेनाल्टीमा गोल गरेका थिए ।

सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा मैदान प्रवेश गर्दै नेपाली टोली, तस्विर सौजन्यः एन्फा ।

खासमा सुमन सेटपिस विशेषज्ञ पनि हुन्, पेनाल्टीमा त उनको दखल झन राम्रो छ । उनले एपिएफबाट अहिलेसम्म १५ वटा पेनाल्टी प्रहार गर्दा सबैमा सफल भएका छन् ।

मकवानपुरको सफलतापछि एपिएफले राइनो गोल्डकप, बेलबारी गोल्डकप र त्रिवेणी गोल्डकपमा सफलता हासिल गरेको छ । यी सबैमा सुमनको प्रस्तुति एपिएफका लागि महत्त्वपूर्ण रह्यो । अहिले त उनी एपिएफका निर्विकल्प रक्षक भएका छन् । सुमनले यसबाहेक एपिएफ करियरको सुरुआती समयमै गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक पनि जितेका थिए ।

‘त्यतिबेला रत्नकाजी (महर्जन) गुरुले मलाई विश्वास गर्नुभएको थिएन । अहिले अवस्था फेरिएको छ,’ सुमन मुस्कुराउँछन्, ‘पहिला फ्लप थिएँ, अहिले कोचको नम्बर वान भएको छु ।’

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुमनका लागि नौलो थियो । चार दिनपछि अन्तिम टोली सार्वजनिक भएको थियो । यो चार दिनमा सुमनले के-कस्ता स्मरणीय क्षण आत्मसात गरे त ?

पछिल्लो दुई महिना मोफसलका प्रतियोगिताहरूले घरेलु फुटबललाई अस्तव्यस्त बनायो । यही समयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका लागि अस्ट्रेलियन मूलका म्याट रसलाई नयाँ मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको थियो । रसले राजधानीमा आयोजित सभापति कप र केपी ओली कपमा सुमनको प्रदर्शन प्रत्यक्ष रूपमा हेर्न पाए । रक्षापङ्क्तिमा सुमनको एग्रेसन र डिफेन्डिङ एबिलिटीले रसलाई प्रभावित पारेछ ।

 सुमन श्रेष्ठ (बायाँ) । 

सिंगापुर र मलेसिया टुरका लागि सुरुमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । यसबाहेक फरवार्ड रेजिन सुब्बा र विंगर सिर्जन क्षेत्री ‘स्ट्यान्ड बाइ’ थिए । एक हप्तापछि रसले ६ खेलाडीलाई बाहिर राखे अनि रेजिन, सिर्जन र सुमनलाई पहिलो पटक राष्ट्रिय टिममा समेट्दै २७ सदस्यीय टोली घोषणा गरे ।

सुमन विराट गोल्डकपका लागि विराटनगरमा थिए । भारतीय टोलीलाई एक दिनअगाडि हराएर सबै खेलाडी भोलिको खेलका लागि ‘आइसिङ’ गरिरहेका थिए । ठिक त्यही बेला सुमनलाई राष्ट्रिय टोलीका सहायक प्रशिक्षक सल्यान खड्गीको कल आएको थियो ।

‘सल्यान सरको कल आयो । म्याट रस कोचलाई तिम्रो खेल मनपरेको छ । राष्ट्रिय टोलीमा बोलाउनुभएको छ भन्नुभयो । टेलिफोन संवादको एक घण्टापछि म काठमाडौं आइहालें ।’

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुमनका लागि नौलो थियो । चार दिनपछि अन्तिम टोली सार्वजनिक भएको थियो । यो चार दिनमा सुमनले के-कस्ता स्मरणीय क्षण आत्मसात गरे त ?

सुमनको आगमनले नेपाली फुटबलका लागि एउटा आशाको किरण थपिएको छ । 

हाँस्दै सुनाउँछन्, ‘पहिलो दिन नै मैले स्ट्राइकरबाट ट्याकल खाएँ । ब्ल्याक बुल्ससँग हाम्रो मैत्रीपूर्ण खेल थियो । अनन्त दाइ घाइते भएकाले रसले मलाई अभिषेक (लिम्बू) दाइसँगै सेटमा राखेर खेलाउनुभयो । म आफैं चकित भएँ । राष्ट्रिय टोलीमा टफ फाइट हुँदो रहेछ । दिन प्रतिदिन मेरो खेल राम्रो हुँदै गयो । कोचले पनि विश्वास गर्दै जानुभयो । त्यसपछि कोचले अनन्त दाइ र मलाई जोडी बनाउँदै लानुभयो । झन् राम्रो हुँदै गयो ।’

राष्ट्रिय टोलीमा सुमन श्रेष्ठ (३ नम्बर जर्सी), तस्विरःसौजन्य सौजन्यः एन्फा । 

एपिएफले ठाँटका साथ शीर्ष डिभिजनको हैसियत जोगाउन नसक्दा उनी फुटबल नै त्याग्ने मनसायसम्म पुगेका थिए । तर, राष्ट्रिय टोलीको जर्सी लगाउने उनको त्यो चाहनाले उनलाई ढाडस दिइरह्यो । यही ढाडसले त हो सुमनलाई किरण चेम्जोङ, रोहित चन्द जस्ता खेलाडीसँग खेल्ने सौभाग्य जुरेको ।

नेपाली फुटबलले पाएको भरपर्दा डिफेन्सिभ मिडफिल्डरमध्ये एक रोहितले अनन्तसँग मिलेर सेन्टर ब्याकको पोजिसनमा खेल्दै आएको धेरै भइसक्यो । यसको एउटै मात्र कारण हो, भरपर्दा रक्षकको कमी । सुमनको आगमनले नेपाली फुटबलका लागि एउटा आशाको किरण थपिएको छ । उनीमाथि मात्र एउटा प्रश्न उब्जिन्छ, के उनी लामो रेसका घोडा बन्न सक्छन् त ?

सुमनका एपिएफका गुरु, राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जीवेशकुमार पाण्डे भन्छन्, ‘सुमन मिहिनेती खेलाडीमा पर्छन् । उनी जेन्युन छन् । उसको एन्टिसिपेसन, पोजिसनिङ, इन्डोरेन्स, फिटनेस लेभल पनि राम्रो छ । म उसको भविष्य उज्ज्वल देख्छु । सुमनसँग प्रचुर क्षमता भएकै कारण उसले पहिलो अनुभवमै ‘डेब्यू अवसर प्राप्त गरेको हो । तर, मलाई अचम्म लागेको, यत्तिको क्वालिटी प्लेयरलाई पहिला किन बोलाइएन भन्ने चाहिँ हो ।’