काठमाडौं । लिग लिडर रियाल मड्रिड स्पेनिस ला लिगामा आइतबार घरेलु टोली रायो भायकानोसँग गोलरहित बराबरीमा रोकिएको छ ।
यो नतिजासँगै रियालले १२ खेलमा ३१ अंक जोडेको छ । यसैगरी भायकानो समान खेलबाट १५ अंकका साथ १२औं स्थानमा छ ।
डी भ्यालेकास रंगशालामा दुवै टोलीले पाएका केही अवसरलाई सुदुपयोग गर्न सकेनन् । जारी लिगमा रियालको यो पहिलो बराबरी हो ।
रियाल लगातार दुई खेलमा गोलविहिन रह्यो । मंगलबार च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध १-० को हार बेहोर्नुअघि रियालले यस सिजनका सबै १४ खेलमा गोल गरेको थियो ।
रियालका प्रशिक्षक जाभी अलन्सोले आजको खेलमा क्षमता अनुुसारको प्रदर्शन हुन नसकेको स्वीकारे । ‘आजको खेल तीमध्ये एक थियो, जहाँ हामीलाई पुनः हाम्रो स्तरमा फर्किन कठिन भयो,’ अलन्सोले भने,‘ ‘दोस्रो हाफमा केही पनि हुन सक्थ्यो। यो भावनात्मक उतारचढावको कारण होइन। सिजन लामो छ, धेरै उतारचढाव आउँछ। तर, हामी ती सामना गर्न सक्षम छौं र त्यसका लागि तयार पनि ।’
