काठमाडौं । फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण आज (शनिबार) बाट दशरथ रंगशालामा सुरु हुँदै छ । उपत्यका डर्बी रहेको उद्घाटन खेलमा पूर्वच्याम्पियनद्वय ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच साँझ ६ बजे प्रतिस्पर्धा गर्दै छन् ।
नेपालमा चलनचल्तीमा रहेका डिभिजन लिग र नकआउट फुटबलभन्दा यो प्रतियोगिता केही फरक पक्कै छ । केही आकर्षण र पैसा पनि उस्तै छ । त्यसैले हरेक वर्ष आयोजना हुँदा विरोध र विवाद त भइरहेकै हुन्छ । यसपालि पनि त्यही दोहोरियो ।
विशेषतः फुटबल सञ्चालनको जिम्मेवारी पाएको अखिल नेपाल फुटबल (संघ)ले सधैं आयोजना गर्दा विभिन्न स्वार्थ जोडेर यसलाई हेर्ने गरेको छ । त्यसैले त हो यो प्रतियागिता निरन्तर हुन सकिरहेको छैन । एन्फाले आयोजना मिति नै दिने गरेको छैन ।
यो प्रतियोगितामा सात टिमबाट २३ खेलाडीका दरले १६१ खेलाडीले रोजगारी पाउँदै छन् ।
२०७७ साल वैशाखमा पहिलो संस्करण भएपछि दोस्रो संस्करण एकै पटक ०८० सालको मंसिरमा आयोजना भयो । यसपालि पनि दुई पटक गरेर नयाँ मिति टुंगो लागेको हो ।
तोकिएको मितिमा गर्न नसक्ने र प्रतियोगिता दीर्घकालीन नदेखेपछि हालसम्म सहभागी भएका तीन टिमले लिगलाई निरन्तरता दिएका छैनन् । पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करण नै खेलेन । दोस्रो संस्करणमा झापा एफसीसहित वीरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ डी मेची इलाम लिगमा जोडिए । तर, तेस्रो संस्करणमा इलाम र वीरगन्जले नाम फिर्ता लिएका छन् । बुटवल लुम्बिनीले मालिक परिवर्तन नै गर्यो ।

उनीहरूको एउटै आरोप र असन्तुष्टि छ, ‘आयोजना जिम्मेवारी पाएको नेपाल स्पोर्टस इभेन्ट एन्ड म्यानेजमेन्ट कम्पनीले यसलाई दीर्घकालीन रूपमा सोचेन । लक्ष्य नै केही छैन । टिमको लगानी खेर जाने भयो ।’
यसका बाबजुद पनि चौधरी ग्रुपको स्वामित्वमा रहेको यो कम्पनीले तेस्रो संस्करणमा सात टिम सहभागी गराएको छ । ललितपुर र काठमाडौंसँगै दुई पटकको उपविजेता धनगढी एफसी, झापा, पोखरा थन्डर्स, एफसी चितवन र बुटवल लुम्बिनी छन् । हरेक टिमले एक करोडदेखि २ करोडसम्म लगानी हुने अनुमान गरेका छन् । सोहीअनुसार खेलाडी र प्रशिक्षकहरू अनुबन्ध गरेका छन् ।
एन्फाले ‘बी’ डिभिजन लिग र निकै चर्चामा रहेको एनएसएलको समय जुधाएको छ ।
यो प्रतियोगितामा सात टिमबाट २३ खेलाडीका दरले १६१ खेलाडीले रोजगारी पाउँदै छन् । २३ खेलाडीभित्र एक एसियालीसहित ६ विदेशी खेलाडी समावेश गर्न पाइन्छ । पछिल्लो वर्षमा नेपालका एक सयभन्दा बढी खेलाडी विदेश पलायन भएपछि आयोजकले विदेशी खेलाडी कोटा बढाएको हो । त्यस्तै प्रशिक्षक र टिम अफिसियलले पनि प्रत्यक्ष लाभ पाउने छन् । रेफ्री, प्राविधिक टिमलगायत समग्रमा धेरैले रोजगारको अवसर पाएका छन् ।

तर, एन्फाले क्यालेन्डर गतिलो बनाउन नसक्दा प्रतिभावान युवा खेलाडीले एनएसएलको तेस्रो संस्करण गुमाएका छन् । यसअघि नै उच्च प्रदर्शन गरेका खेलाडी सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लबमा आबद्ध भएका छन् । उनीहरू एनएसएलमा देखिने छैनन् । एन्फाले ‘बी’ डिभिजन लिग र निकै चर्चामा रहेको एनएसएलको समय जुधाएको छ । तेस्रो संस्करणले वैशाख १३ मा नयाँ च्याम्पियन पाउने छ ।
कस्तो रह्यो पहिलो संस्करण कोरोना महामारीको समयमा सुरु भएको पहिलो एनएसएलविना दर्शक खेलाइएको थियो । एनएसएलको पहिलो गोलकर्ता विराटनगरका रक्षक विक्रम धिमाल हुन् । सात टिम सहभागी लिगमा काठमाडौं रेजर्स च्याम्पियन भयो । लिग चरणमा पनि काठमाडैंले उत्कृष्ट प्रदर्शन गर्दै १३ अंकसहित शीर्षस्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो ।

काठमाडौंसँगै धनगढी १० अंक, ललितपुर ९ अंक र बुटवल लुम्बिनी ८ अंकसहित प्लेअफमा स्थान बनाएका थिए । पोखरा, विराटनगर र चितवन लिग चरणबाट माथि जान सकेनन् ।
उपाधि भिडन्तमा काठमाडौंले धनगढीलाई १-० ले हराएको थियाे । चर्चित स्ट्राइकर ओलोमोउ मेसुकेले फाइनलमा गोल गरेका थिए । गोलकिपर धनगढीका किरणकुमार लिम्बु, रक्षकमा धनगढीकै दिनेश राजवंशी, मिडफिल्डरमा मेसुके, स्ट्राइकरमा ललितपुरका मार्की अञ्जन विष्ट र प्रशिक्षकमा काठमाडौंका बालगोपाल महर्जन उत्कृष्ट घोषित भएका थिए । विश्वास श्रेष्ठ उदीयमान खेलाडी चुनिए भने फेयर प्ले टिम बुटवल भएको थियो । मेसुकेले लिगमा सर्वाधिक ८ गोल गरेका थिए ।
तीन वर्षपछि भयो दोस्रो संस्करण पहिलो संस्करण सम्पन्न भएको तीन वर्षपछि दोस्रो भएको हो । यसपटक धनगढीलाई नै हराउँदै ललितपुर पहिलो पटक च्याम्पियन बन्यो । तर, विभिन्न विवादबीच यो प्रतियोगिता सुरु हुन नै तीन वर्ष लाग्यो । विशेषतः निर्वाचन समय भएकाले एन्फाको एउटा स्वार्थ समूहको निशानामा एनएसएल पर्यो । प्रतियोगिता हुन दिने कि नदिने भन्नेसम्म प्रश्न उठ्यो ।
अर्काेतर्फ सहिद स्मारक ‘ए’ डिभिजन लिगका मनाङ मर्स्याङ्दी र थ्री स्टारसँगै आठ टिमले यसको चर्काे विरोध गरेका थिए । बारम्बार पत्रकार सम्मेलन गरे । यसका बाबजुद यो प्रतियोगिता ०८० मंंसिर ८ बाट सुरु भएको थियो ।

दोस्रो संस्करणको पहिलो गोलकर्ता बने काठमाडौंका राजीव लोप्चन । पोखरा १५ अंक जोड्दै तालिकाको शीर्षस्थानमा रह्यो । धनगढी १३ अंकसहित दोस्रो, काठमाडौं १२ अंकसहित तेस्रो र ललितपुर १० अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाए । पाँचौं स्थानको झापा, छैटौं स्थानको बुटवल, सातौं स्थानको चितवन, आठौं स्थानको वीरगन्ज र नवौं स्थानको इलाम भने स्तब्धपूर्ण नतिजाका साथ प्लेअफबाट टाढा रहे । उदीयमान खेलाडी बनेका थिए, धनगढीका रोहन कार्की । तेस्रो संस्करणमा रोहन काठमाडौंका मार्की छन् ।
फाइनलमा धनगढीलाई ३-२ ले हराउँदै ललितपुर पहिलो पटक च्याम्पियन भएको थियाे । टोलीले पुरस्कारस्वरुप ७० लाख रुपैयाँ जित्यो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी ललितपुरका मार्की अनन्त तामाङ भए । उत्कृष्ट गोलकिपर ललितपुरकै जेफेरी विली मार्सल भए, गोल्डेन बुट ललितपुरकै इमोन इजीकल घोषित भएका थिए । इमोनले सर्वाधिक ६ गोल गरेका थिए । गोलकिपर जेफेरी र स्ट्राइकर इमोन तेस्रो संस्करणमा पनि ललितपुरकै जर्सीमा देखिनेछन् ।
