काठमाडौं । इटालियन क्लब युभेन्टसले लुसियानो स्पालेट्टीलाई नयाँ मुख्य प्रशिक्षकामा नियुक्त गरेको छ ।
युभेन्टससँग एक वर्षको सम्झौता गरेका स्पालेट्टीले इगोर ट्युडरको स्थान लिनेछन् । टोलीले सोमबार मात्र ट्युडरलाई बर्खास्त गरेको थियो ।
यसैगरी बुधबार युडिनेजविरुद्धको खेलमा मासिमिलियानो ब्राम्बिलाले प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए ।
इटालियन राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक स्पालेट्टीसँग इम्पोली युडिनेज, नापोली, रोमा, इन्टर मिलानजस्ता क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ ।
उनले गत जुनमा इटालियन राष्ट्रिय टोली छाडेका थिए ।
'युभेन्टस जस्तो ठूलो क्लबको प्रशिक्षक बन्न पाउनु ठूलो सम्मान हो। राष्ट्रिय टोलीपछि फेरि क्लब फुटबलमा फर्किनु मेरो लागि निकै रोमाञ्चक हुनेछ,’ स्पालेट्टीले भने ।
स्पेलेट्टीको प्रशिक्षणमा युभेन्टसले शनिबार क्रेमोनीजविरुद्ध पहिलो खेल खेल्नेछ ।
इटालियन सिरी ‘ए’ मा युभेन्टस ९ खेलमा १५ अंकका साथ सातौं स्थानमा छ ।
 
  
  
  
  
  
  
  
  
 
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 