काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले दिल्ली यु-१९ टोलीविरुद्धको एकदिवसीय अभ्यास शृंखलामा ‘क्लिन स्विप गरेको छ ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा शनिबारबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल ५१ रनले विजयी भयो ।
जितसँगै नेपालले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो । यसअघि नेपाल पाँच विकेट र १०२ रनले विजयी भएको थियो ।
नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७७ रनमै समेटियो । दिल्लीका लागि कप्तान रौनक वेग्हेलाले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि दयानन्द मण्डलले चार, विपिनप्रसाद शर्माले दुई तथा नितिश पटेलले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि रोशन विश्वकर्मा र युवराज खत्रीले समान १८, दिलसद अली र साहिल पटेलले समान १७, सोहिल कुँवरले १५ र कप्तान सन्तोष यादवले १० रन बनाए ।
दिल्लीका लागि किरिट कौशिकले १० ओभरमा तीन मेडनसहित ४८ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी रौनक वेग्हेलाले तीन तथा शुभम दुबे र अमन चौधरीले समान एक विकेट लिए ।