काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग(आइपिएल) मा आइतबार चेन्नई सुपर किंग्सविरुद्ध ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
पहिलो जितसँगै राजस्थानले तीन खेलमा दुई अंक जोडेको छ । लगातार दोस्रो खेलमा पराजित चेन्नईको पनि सामन खेलबाट दुई अंक नै छ ।
गुहवाटीस्थित बार्सापरा क्रिकेट रंगशालामा राजस्थानले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १७६ रन बनाउन सक्यो ।
चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी रविन्द्र जडेजाले अविजित ३२, राहुल त्रिपाठीले २३, शिवम दुवेले १८, महेन्द्रसिंह धोनीले १६ र जिमी ओभरटनले अविजित ११ रन बनाए ।
राजस्थानका लागि वानिन्दु हसरंगाले चार तथा जोफ्रा आर्चर र सन्दीप शर्माले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रनको योगफल तयार पार्यो ।
राजस्थानका लागि नितिश रानाले ३६ बलमा १० चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरे । यसैगरी कप्तान रियान परागले ३७, सन्जु सामसनले २० र सिम्रन हेडमायरले १९ रन बनाए ।
दोस्रो विकेटका लागि नितिश र सन्जुले ८२ रनको साझेदारी गरेका थिए । चेन्नईका लागि मथिशा पाथिराना, खलिल अहमद र नुर अहमदले समान दुई तथा रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान एक विकेट लिए ।