काठमाडौं । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल पुलिस क्लब लगातार दोस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
शनिबार सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
पुलिसका लागि कुशल भुर्तेलले ७० बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे । यसैगरी अमीत श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रन बनाए ।
पहिलो विकेटका लागि कुशल र अमीतले ७७ रनको साझेदारी गरेका थिए । आर्मीका लागि शाहब आलमले तीन तथा नरेन साउदले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो ।
आर्मीका लागि बसिर अहमदले १०४ बलमा ९ चौका र एक छक्काको मद्दतले अविजित ८६ रनको योगदान गरे । यसैगरी कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाए ।
छैटौ विकेटका लागि बसिर र विनोदले ७७ रनको साझेदारी गरेका थिए । पुलिसका लागि करण केसी र सागर ढकालले समान तीन, कप्तान दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशी र गुल्शनकुमार झाले समान एक विकेट लिए ।
पुलिस समग्रमा चौथो पटक च्याम्पियन बनेको हो । पुलिस सन् २०१७ मा आर्मीसँग संयुक्तरुपमा तथा २०१९ र २०२४ मा एकलरुपमा विजेता बनेको थियो ।