काठमाडौंं । नेपाल क्रिकेट संघ (क्यान)ले ओपनर अनिलकुमार साह र स्पिनर सन्दीप लामिछानेलाई बाहिर राख्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
अनिल र सन्दीप बाहिर रहँदा किरण ठगुन्ना, दीपेन्द्र रावत, रुपेश सिंह र अर्जुन घर्तीले पहिलो पटक बन्द प्रशिक्षणमा स्थान बनाएका छन् ।
क्यानका अनुसार सन्दीपलाई हर्नियाको शल्यक्रियापछि पूर्ण रूपमा फिट नभएका तथा अनिललाई औलाको चोट बल्झिएका कारण बाहिर राखिएको हो । बन्द प्रशिक्षण बुधबारदेखि रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ ।
नेपालले हङकङमा चार देशसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । अप्रिल ९ देखि १३ अप्रिलसम्म हुने शृंखलमा नेपाल, हङकङ कतार र कुवेतको सहभागी हुनेछन् ।
नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ ।
लिग चरणमा सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा छन् । यस्तै पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, किरण ठगुन्ना, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शाहब आलम, विवेक यादव