काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाइएको छ ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार छनोट चरणमा बोलाइएका ५८ मध्येबाट ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरेका हुन् ।
छनोट प्रकृया आइतबार, सोमबार र मंगलबार चलेको थियो । बन्द प्रशिक्षणमा परेका खेलाडीलाई आइतबारसम्म सातदोबाटोस्थित मुख्यालयमा सम्पर्क गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आग्रह गरेको छ ।
साफ यु-१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुनेछ ।
समूह ‘बी’ को नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।
अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।
नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ । २०१५ मा घरेलु भूमिमा भएको च्याम्पियनसिपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो ।
दुई वर्षपछि भुटानमा सम्पन्न दोस्रो संस्करणमा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो । त्यतिबेला नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको थियो ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
गोलकिपरः भक्तबहादुर परियार, विक्रम विष्ट, विशेष बानियाँ, पेम्बानोर्बु भोटे, रोजन प्रधान, उपेन्द्र लवान
रक्षकः एकराज विश्वकर्मा, करण तामाङ, कृष्णबहादुर आले, कृष मगर, कुसाङ नेम्वाङ, लच्छु थापा, मदन पौडेल, निशान बान्तवा, प्रशान्त मोक्तान, राम थामी, राम थापा, रोहन मोक्तान, रोनेश मगर, रोशन तामाङ, सविनया कटुवाल, समीर थापा, सरोज दर्लामी, सिद्धान्त खड्का, सुजलमान घले
मिडफिल्डरः एलिक श्रेष्ठ, विज्ञान खड्का, विनायक थारु, धर्मेन्द्र कुँवर, लक्ष्मण थामी, माइकल थापा, रञ्जित लामा, सविन लुंगेलीमगर, समीर कुमार
फरवार्डः विजय उर्वा, विक्रम गौतम, ग्रेमन श्रेष्ठ, पवन पाख्रिन, प्रसुन तामाङ, सुवास बम, सुदीप मोक्तान, सुजन डंगोल