सहिद स्मारक लिग

लगातार दोस्रो हारपछि दबाब बढेको छ: कुमार थापा


काठमाडौं । विभागीय टोली एपिएफ फुटबल क्लबका प्रशिक्षक कुमार थापाले च्यासल युथ क्लबसँग पराजित हुनुले क्लबमाथी दबाब बढेको बताएका छन् । लिगमा एपिएफको यो लगातार दोस्रो हार हो । टोली पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ ले पराजित भएको थियो ।

‘अंक ल्याउन धेरै गार्हो थियो । पहिलो खेलको तुलनामा टोलीको प्रदर्शन राम्रो रहे पनि टिम पूरा सेट भइसकेको छैन् । गणेश बुढाथोकीले डेब्यु गरेका थिए । कप्तान तोपबहादुर बिष्टलाई रक्षकको भुमिकामा झारेका थियौं । डिफेन्समा आजको खेल राम्रो रहे पनि मिडफिल्डमा अझै धेरै सुधारको खाँचो देखेको छु,’ थापाले भने, ‘ विभागीय टोलीबाहेक सबै टिममा विदेशी खेलाडी छन् । यसले पनि खेललाई प्रभावित पारेको छ । हामीले पनि टोलीमा विदेशी खेलाडी ल्याउने योजना बनाइरहेका छौं । राम्रो विदेशी खेलाडी पाए क्लबमा भित्राउने छौं ।’

थापाले टोलीले लगातार दोस्रो खेल गुमाए टोलीमा दबाब रहे पनि आफूले दबाब नलिएको बताए ।

‘चार खेलाडीलाई फरवार्ड लाइनमा उतार्दा पनि गोल गर्न सकेनौं । पछिल्लो सिजन पनि लिगमा जोगिन सर्घष गरेका थियौं । यसपाली त्यो अवस्था नहोला भन्ने आशा गरेको छु । आजको खेल पनि गुमाउँदा ६ अंक होइन १२ अंक गुमाए जस्तो भएको छ । दुई खेलमा पराजित हुदाँ टोलीमा दबाब बढेको छ तर मैले दबाब लिएको छैन,’ उनले भने, ‘अझै ११ खेल बाँकी छन् । अझै राम्रो गर्नेमा आशावादी छु ।’