सदिद स्मारक ‘सी’ डिभिजन लिग

झम्सिखेलविरुद्ध सानेपाको सहज जित

तस्विरः एन्फा

काठमाडौं । पेम्बा दोर्जे लामाको दुई गोलप्रेरित सानेपा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मंगलबार झम्सिखेल युथ क्लबविरुद्ध ४-१ को सहज जित निकालेको छ ।

जितसँगै चार खेलमा सात अंक जोडेको सानेपा तेस्रो स्थानमा उक्लिएको छ । हार ब्यहोरेको झम्सिखेल समान खेलबाट तीन अंकका साथ नवौं स्थानमा यथावत छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा खेलको २२औं मिनेटमा पेक्बाको पेनाल्टी गोलमार्फत अग्रता लियो ।

झम्सिखेलका प्रकाश पाख्रिनले पेनाल्टी बक्स भित्र खेमराज तामाङलाई लडाएपछि सानेपाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । जसमा पेम्बाले सहजै गोल गरे ।

तस्विरः एन्फा

५८औं मिनेटमा पेम्बाले पेनाल्टीमार्फत नै ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यसपटक पनि प्रकाशले पेनाल्टी बक्स भित्र खेमराजमाथि नै फउल गरे ।

एक मिनेटपछि नै सौजन राईबाट आत्मघाती गोल हुन पुग्दा सानेपा ३-० ले अगाडि बढ्यो । सौजनले गोलकिपर विपिन चौधरीलाई दिएको ब्याक पास गोलमा परिणत भयो ।

सन्देश श्रेष्ठले ७८औं मिनेटमा गरेको गोल झम्सिखेलका लागि सान्त्वना बन्यो । सन्देशले कप्तान सञ्जय रम्तेलको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।

इन्जुरी समयमा संभ्रान्तसिंह डंगोलले गोल गर्दै सानेपालाई ४-१ को सहज जित दिलाए ।