इङ्लिस प्रिमियर लिग

युनाइटेडका समर्थकलाई टिममाथि विश्वास राख्न काभानीको आह्वान

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका फरवार्ड इडिन्सन काभानीले जारी सिजनको कमजोर सुरुआतका बावजुद समर्थकलाई आफ्नो टिममाथि विश्वास राख्न आह्वान गरेका छन् ।

लिगका पछिल्ला ६ खेलमध्ये एकमामात्र जित हासिल गरेको युनाइटेड हाल प्रिमियर लिग अंकतालिकाको छैटौं स्थानमा छ । टोली शीर्ष स्थानको चेल्सीभन्दा नौं अंकले पछि छ ।

पछिल्ला खेलहरुमा लगातार निराशा भोग्ने क्रममा युनाइटेड लिभरपुलसँग घरेलु मैदानमा ५-० ले पराजित भएको थियो । चिर प्रतिद्वन्द्वी लिभरपुलसँग यसअघि टोली यस्तो ठूलो अन्तरमा १९८५ मा एन्फिल्डमा पराजित भएको थियो । त्यतिबेला लिभरपुलले ७-१ को नतिजा निकालेको थियो ।

लिभरपुलविरुद्धका खेलमा यो युनाइटेडको इतिहासमै घरेलु मैदानमा भोगेको सबभन्दा ठूलो अन्तरको हार हो । १९५५ को फेब्रुअरीमा म्यानचेस्टर सिटीसँग ५-० ले स्तब्ध भएयता युनाइटेड ओल्ड ट्राफोर्डमा आफूले गोल गर्न नसकिकन पाँच गोल खाएर हारेको पनि यो पहिलो पटक थियो ।

यद्धपि लगातारको खराब नतिजापछि बर्खास्तगीको दबाबमा पुगेका प्रशिक्षक ओले गनर सोल्सायरले लगत्तैको खेलमा टोटनहममाथि ३-० को अवे जित हासिल गरेर राहतको अनुभव गरेका थिए । तर त्यसलगत्तैको खेलमा युनाइटेड फेरी सिटीसँग निराश भयो । जुन २०२१ मा ओल्ड ट्राफोर्डमा घरेलु टोलीले भोगेको आठौं हार थियो । १९८९ यता युनाइटेडले एउटै क्यालेन्डर वर्षमा घरेलु मैदानमा सर्वाधिक खेलमा हार भोगेको यो पहिलो पटक हो ।

सोल्सायरको टोली लर्खराएको प्रिमियर लिग अभियानलाई लिकमा फर्काउने अपेक्षासहित शनिबार वाट्फोर्डको भ्रमणमा निस्कँदैछ । जहाँ समर्थकले थप निराशा बेहोर्नु नपर्ने काभानीले विश्वास व्यक्त गरेका छन् ।

‘टिममाथि विश्वास राख्नुस । खेलाडीमाथि विश्वास राख्नुस । हामी सुधारका लागि पूरा मिहिनेत गरिरहेका छौं । समर्थकलाई थप निराश हुन दिन्नौं,’ उरुग्वेका फरवार्ड काभानीले युनाइटेडको आधिकारिक वेभसाइटमा भनेका छन्, ‘हामी चाँडै विजयी लयमा फर्किनेछौं ।’

पेरिस सेन्ट जर्मन (पिएसजी)बाट २०२० को अक्टोबरमा स्वतन्त्र सरुवा प्रणालीअन्गर्तत सम्झौता गरेर युनाइटेडसँग अनुबन्धित भएयता ३४ वर्षे काभानीले ४७ खेलमा टोलीका लागि १८ गोल गर्नुका साथै ६ एसिस्ट गरेका छन् ।