जर्मन बुन्डेसलिगा

ह्यारी केनको कीर्तिमानी ह्याट्रिक, बायर्नको आठ गोल

काठमाडौं । ह्यारी केन डेब्यु सिजनमै चार ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेको खेलमा बायर्न म्युनिखले मेइन्ज ०५ विरुद्ध ८–१ को जित निकालेको छ ।

शनिबार घरेलु मैदानमा ह्यारी केनले तीन, लिओन गोरेट्जकाले दुई तथा थोमस मुलर, जमल मुसियला र सर्ज जिनाब्रीले समान एक गोल गरेका थिए । मेइन्जका नादिएम अमिरीले एक गोल फर्काए ।

इङ्ल्यान्ड राष्ट्रिय टोलीका ३० वर्षीय कप्तान केनले यस सिजन क्लब र राष्ट्रको लागि ४० गोल पूरा गरिसकेका छन् । उनी बुन्डेसलिगाको डेब्यु सिजनमा चार ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने । उनले बुन्डेसलिगाको २५ खेलमा ३० गोल गरिसकेका छन् ।

जितपछि २५ खेलबाट बायर्न ५७ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलको बायर लेभरकुसन ६४ अंकसहित शीर्ष स्थानमा छ ।