झापा गोल्डकप

सहज जितसँगै आयोजक झापा सेमिफाइनलमा

बिर्तामोड । आयोजक झापा ११ एफसी झापा गोल्डकप छैटौं संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार एन्फा मकवानपुरलाई ५-१ ले  पराजित गर्यो ।

झापाको जितमा आदित्य शाक्य, प्रदीप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाई र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एक गोल गरे । मकवानपुरको लागि ओस्कारले सान्त्वना एक गोल फर्काए ।

खेलको २५औं मिनेटमा आदित्यको गोलमार्फत झापाले अग्रता लिएको थियो ।  आशिष चापागाईले निकालेको ‘थ्रु’ बलमा आदित्यले चलाखीपूर्ण गोल गरे । उनको मकवानपुरका गोलकिपर गोपी बर्तौलाले बचाउने प्रयास गरेपनि सफल भएनन् ।

विदेशी खेलाडी ह्यारिसनले ६६औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।  दिपेश आले मगरले मध्यभागबाट मिलाएको ‘एयर’ बललाई नियन्त्रण लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन् ।

मकवानपुरका ओस्कारले ६९औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । । समिराज ठोकरले दायाँ भागबाट मिलाएको बललाई बक्स रहेको ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन् ।

प्रदीपले ८३औं मिनेटमा प्रदीप गोल गरेपछि झापा ३ १ दले अगाडि बढ्यो। प्रदीपले ह्यारिसनको स्थानमा मैदान प्रवेश गरेको पहिलो टचमै गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा झापाले दुई गोल गर्यो । बबिनले टोलीका लागि थौगो गरे  बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए । अर्को गोल आशिषको नाममा रह्यो । आशिषले बक्सबाहिर प्राप्त बललाई अगाडी बढाउँदै सुन्दर गोल गरेका  ।

दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

खेलको १८औं मिनेटमा झापा सुन्दर गोल गर्नबाट चुक्यो । अगाडी बढाउँदै दुई रक्षक र गोलकिपर बिट गरेका ह्यारिसन अन्तिममा भने चुके । उनले खाली पोष्टमा प्रहार गरेपनि कप्तान सुरज विष्ट गोललाइनबाट क्लियर गर्न सफल भएका थिए । ३५औं मिनेटमा ह्यारीसन पुनः चुके । बक्सभित्र उनको प्रहार गोलकिपर गोपीले सहजै बचाए  ।

आदित्यको शक्तिशाली प्रहारलाई  ४४औं मिनेटमा गोलकिपर गोपीले पन्च गर्दै बचाए । ४८औं मिनेटमा ह्यारीसनकै प्रहार गोपीले बचाउ गरे । खेलको ७३औं मिनेटमा आशिषले बक्सभित्रबाट हानेको प्रहार बारमा लागेर फर्कियो ।

मकवानपुरका कप्तान सुरजले  ६२औं मिनेटमा बक्सबाहिरबाट हानेको फ्रिकिक प्रहार सटिक रहेन ।  

योसँगै प्रतियोगिताको सेमिफाइनल समिरकण पूरा भएको छ । त्रिभुवन आर्मी क्लब, एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा दुई विभागीय टोली आर्मी र एपिएफ शुक्रबार प्रतिपर्धा गर्नेछन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा झापा र चर्च ब्वाइज भिड्नेछन् ।

यसअघि पाँच संस्करण आयोजना हुँदा आर्मीले चार र मनाङ मर्स्याङ्दी क्लबले एक पटक उपाधि जितेका छन् ।