एएफसी एसियन कप

एएफसी एसियन कपः क्वार्टरफाइनलका दुई खेल हुँदै

काठमाडौं। कतारमा जारी एएफसी एसियन कप २०२३ अन्तर्गत शनिबार क्वार्टरफाइनलका दुई खेल हुँदैछ । पहिलो खेलमा दुई हेभिवेट इरान र जापानले एकअर्कासँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा साबिक विजेता कतारले उज्वेकिस्तानको सामना गर्दैछ ।

इरानविरुद्ध जापान

इरान र जापान एसियाली फुटबलको दुई हेभिवेट राष्ट्रहरु हुन् । एजुकेशन सिटी रंगशालामा हुने खेल नेपाली समय अनुसार ५:१५ बजे सुरु हुनेछ । विश्व फुटबलमा पनि यी दुई राष्ट्रको छुट्टै पहिचान छ । इरान फिफा वरियताको २१औं स्थानमा छ भने जापान चार स्थान माथि अर्थात १७ औं स्थानमा ।

इरानले अन्तिम १६ मा सिरियालाई पराजित गरेको थियो । जापानले भने बहराइनमाथि ३-१ को सहज जित हासिल गरेको थियो ।

कतारविरुद्ध उज्वेकिस्तान

शनिबारको दोस्रो खेलमा आयोजक तथा सबिक विजेता कतारले उज्वेकिस्तानको सामना गर्नेछ । फिफा वरियताका आधारमा हेर्ने हो भने कतार उज्वेकिस्तानभन्दा १० स्थान माथि छ । त्यसमाथि घरेलु दर्शकको साथले पनि कतारलाई खेलमा केही साहज हुनेछ ।

कतारले अन्तिम १६ मा प्यालेस्टाइनलाई २-१ ले पराजित गरेको थियो । उज्वेकिस्तानले पनि थाइल्यान्डमाथि २-१ को जित हासिल गरेको थियो ।