इटालियन सिरी ए

मार्टिनेजको गोलप्रेरित इन्टर शीर्ष स्थानमा

काठमाडौं । इटालियन सिरी ए मा फ्लोरेन्टिनालाई १–० ले हराउँदै इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति इन्टरको जितमा कप्तान लौटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए ।

२१ खेलमा १७ जित निकालेको इन्टर ५४ अंकसहित शीर्ष स्थानमा छ । २२ खेलबाट ५३ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा छ । फ्लोरेन्टिना ३४ अंकसहित पाचौँ स्थानमा रह्यो ।

अर्जेन्टिनी विश्वविजेता मार्टिनेजले खेलको १४औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले क्रिस्टजान अस्लानीको पास सदुपयोग गरेका हुन् ।

दोस्रो हाफमा घरेलु टोलीका निकोलास गोन्जालेजले पेनाल्टी अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक गुमाउनु परेको थियो ।

राति नै भएको अन्य खेलमा एसि मिलान र बोलोग्नाले २–२  र लाजियो र नापोलीले गोलरहित बराबरी खेलेका छन् ।