आहा रारा पाेखरा गोल्ड कप

रोमाञ्चक जित निकाल्दै थ्री स्टार क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक सहारा क्लबमाथि २-१ को रोमाञ्चक जित निकाल्दै थ्री स्टार क्लब आहा रारा  पाेखरा गोल्ड कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा मंगलबार थ्री स्टारलाई जिताउन कप्तान योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे। सहाराका आशिष गुरुङले एक  गोल फर्काए। 

खेलको पाँचौं मिनेटमै योगेशको गोलमार्फत थ्री स्टारले अग्रता लिएएको थियो । योगेशले सहाराका गोलकिपर टिकेन्द्र थापालाई ठोक्किएर आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए ।

२३ औं मिनेटमा आशिषले खेललाई बराबरीमा ल्याए । आशिषले लक्ष्मण रुचालको फ्रिकिक प्रहारलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

५९ औं मिनेटमा एञ्जलले गोल गर्दै थ्री स्टारलाई २-१ को रोमाञ्चक जित दिलाए । थ्री स्टारले सेमिफाइनल प्रवेशका लागि शनिबार भुटानको पारो एफसीको सामना गर्नेछ ।