प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

गण्डकीको दोस्रो जित

काठमाडौं । बागमती प्रदेशलाई तीन विकेटले स्तब्ध बनाउँदै गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

जितसँगै पाँच खेलमा चार अंक जोडेको गण्डकी आठौं स्थानमा छ । पराजयसँगै शीर्षस्थानमा उक्लिने अवसर गुमाएको बागमती सात खेलबाट आठ अंकका साथ दोस्रो स्थानमा छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार बागमतीले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य गण्डकीले तीन बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो ।

गण्डकीका लागि किरण पंगेनीले ९८ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७९ रनको योगदान गरे । यसैगरी इश्वर क्षेत्रीले ३६, मुस्कान थापाले २७, कमल परियारले २० र समिर कँडेलले १९ रन बनाए ।

तेस्रो विकेटका लागि किरण र मुस्कानले ७० तथा पहिलो विकेटका लागि इश्वर र समिरले ५५ रनको साझेदारी गरे । बागमतीका लागि प्रतिश जिसीले दुई तथा रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९८ रनको योगफल तयार पारेको थियो । बागमतीका लागि  आँशुतोष घिरैयाले ४४, इशान पाण्डेले ४३, विपिन आचार्यले ३८, अशोक पौडेलले ३०, सूर्य तामाङले १५ र कप्तान रित गौतमले १३ रन बनाए ।

पहिलो विकेटका लागि आँशुतोष र इशानले ९० रनको साझेदारी गरेका थिए ।

गण्डकीका लागि कमल परियाले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चिएर चार विकेट लिए । यसैगरी कप्तान विपिन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले एक विकेट लिए ।